• २० वैशाख २०८३, आइतबार

उखु किसानका खातामा एक अर्ब छयहत्तर करोड

समर्थन मूल्य कम भएको गुनासो

blog

बर्दीबास समाचारदाता

बर्दीबास, वैशाख २० गते । महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले चालु क्रसिङ सिजन २०८२/८३ का लागि खरिद गरिएको उखुको अधिकांश भुक्तानी सम्पन्न गरेको जनाएको छ ।

मिलका अनुसार यस सिजनमा ११ हजार ८१८ किसानबाट २८ लाख ५३ हजार १७९ क्विन्टल उखु खरिद गरिएको थियो । सो उखुबाट दुई लाख ६१ हजार ७३८ क्विन्टल चिनी उत्पादन भएको एभरेस्ट चिनी मिलले जनाएको छ ।  

खरिद गरिएको उखुको कुल एक अर्ब ७६ करोड ४२ लाख ५५ हजार रुपियाँ किसानको बैङ्क खातामा भुक्तानी गरिएको मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले जानकारी दिनुभयो । मिलले महोत्तरी, सर्लाही र धनुषाका किसानबाट उखु खरिद गरेको थियो । यस वर्ष सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रुपियाँ बनाएपछि मिल गेटमा ६२० रुपियाँ र खरिद केन्द्रमा ५९५ रुपियाँ प्रतिक्विन्टलका दरले भुक्तानी गरिएको ठाकुरले बताउनुभयो ।

यद्यपि बैङ्किङ प्रक्रिया नमिल्दा १३ जना किसानको करिब तीन लाख ७० हजार रुपियाँ भुक्तानी हुन बाँकी छ । ती किसानसँग सम्पर्कको प्रयास भइरहेको र खाता विवरण प्राप्त हुनासाथ भुक्तानी गरिने मिलले जनाएको छ ।

उखु खेतीमा गिरावट देखिएपछि एभरेस्ट मिलले अघिल्लो सिजन २०८०/८१ देखि उखु खरिद गरेको एक साताभित्रै भुक्तानी दिने नीति लागु गरेको थियो । समयमै भुक्तानी हुँदा उत्पादन वृद्धि हुने अपेक्षा गरिए पनि यस वर्ष लक्ष्य अनुसार उत्पादन हुन सकेन । गत वर्ष १२ हजार पाँच बिघामा उखु खेती गरिएकोमा यस वर्ष उत्पादन लक्ष्यभन्दा करिब चार लाख क्विन्टलले कम भएको छ । 

उखु उत्पादक कृषक महासङ्घका केन्द्रीय सदस्य महाशङ्कर थिङले समयमै भुक्तानी सकारात्मक भए पनि न्यूनतम समर्थन मूल्य निर्धारण नगरेसम्म उत्पादन वृद्धि सम्भव नरहेको बताउनुभयो । वर्तमान महँगी र उत्पादन लागतलाई हेर्दा प्रतिक्विन्टल ७५० रुपियाँ समर्थन मूल्य किसानको न्यूनतम आवश्यकताभित्र पर्ने उहाँको भनाइ छ । 

यसअघि सरकारले उखुमा दिँदै आएको ७० रुपियाँ अनुदान घटाएर ३५ रुपियाँमा झारेपछि किसानले आन्दोलन चर्काएका थिए । पछि सरकारले पुनः ७० रुपियाँ अनुदान कायम गरे पनि समर्थन मूल्य ६२० रुपियाँ मात्र निर्धारण गरिएकाले यसको असर उखु उत्पादनमा परेको किसान नेताहरूको भनाइ छ ।

उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले सरकारले बजार मूल्य र उत्पादन लागतबिचको असन्तुलनलाई वैज्ञानिक रूपमा मूल्याङ्कन गरी दीर्घकालीन समाधान निकाल्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।