काठमाडौँ, चैत १ गते । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणामले उमेर समूह र दलीय हिसाबले परिवर्तन ल्याए पनि सामाजिक समावेशीकरणमा भने खासै परिवर्तन ल्याउन सकेन । पुराना दल र नेताहरू पराजित भएको यस निर्वाचन मतपरिणामले सामाजिक सन्तुलनमा खासै परिवर्तन ल्याउन नसकेको देखिन्छ ।
२०७९ सालको निर्वाचनमा नेकपा (एमाले) बाट एक जना दलित छविलाल विश्वकर्मा रुपन्देही–१ बाट निर्वाचित हुनुभएको थियो भने यस पटक पनि एक जना राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार बाँके–३ मा निर्वाचित हुनुभयो । कुल १६५ सिटमा ९९ जना अर्थात् ६० प्रतिशत खसआर्य निर्वाचित हुनुभयो । आदिवासी जनजाति २७ जना अर्थात् १६.३६ प्रतिशत हुनुहुन्छ । प्रत्यक्षतर्फ दलित एक जना अर्थात् ०.६१ प्रतिशत निर्वाचित हुनुभएको छ । अध्ययनकर्ता गोपाल नेपालीले भन्नुभयो, “निर्वाचनले पुराना दल र व्यक्तिलाई पराजित गरेर नयाँ जनमत र आधार निर्माण गरे पनि समावेशीकरणमा भने नयाँ सन्देश दिन सकेको छैन ।” दुई तिहाइ मत ल्याएको रास्वपाले जम्मा एक जना दलितलाई मात्रै निर्वाचित गराउनु विगतकै परम्परा भएको उहाँको भनाइ छ ।
प्रत्यक्षतर्फ १४ जना अर्थात् ८.४८ प्रतिशत महिला निर्वाचित हुनुभएको छ । मधेशी २८ जना अर्थात् २६.९८ प्रतिशत निर्वाचित हुनुभएको जनाइएको छ । त्यस्तै थारू छ जना अर्थात् ३.६४ र मुस्लिम चार जना अर्थात् २.४२ प्रतिशत प्रत्यक्षमा निर्वाचित हुनुभएको छ ।
रास्वपाको प्रत्यक्षतर्फका १२५ सिटमा १२ जना जनजाति विजयी हुनुहुन्छ । १४ जना निर्वाचित महिलामध्ये १३ जना रास्वपाबाट हुनुहुन्छ भने एक जना नेपाली कांग्रेसबाट निर्वाचित हुनुभयो । नेपाली कांग्रेसको १८ सिटमा छ जना जनजाति निर्वाचित हुनुभएको छ भने एक जना मधेशी हुनुहुन्छ । एमालेको नौ सिटमा तीन जना आदिवासी जनजाति निर्वाचित हुनुहुन्छ भने नेपाली कम्युनिस्ट पार्टीबाट दुई जना निर्वाचित हुनुभएको छ । एमाले र नेकपाबाट प्रत्यक्षमा महिला सहभागिता शून्य छ । प्रत्यक्षमा तीन सिट ल्याएको श्रम संस्कृति पार्टीमा तिनै जना आदिवासी जनजाति हुनुहुन्छ ।