काठमाडौँ, फागुन १६ गते । निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको छ । सार्वजनिक सवारीमा अत्यधिक चाप बढेसँगै ‘रिजर्भ’ गरेर जानेको सङ्ख्या पनि उत्तिकै छ । नियमित रुटमा सवारी थप गर्नु परेको यातायात व्यवसायी सङ्घले बताएका छन् ।
निर्वाचन, होली पर्व र एक हप्तासम्मको लामो सरकारी बिदाले गर्दा उपत्यका छाड्नेको सङ्ख्या दोब्बरले बढेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलले भन्नुभयो, “ फागुन १९ गतेसम्म काठमाडौँबाहिर जानेको सङ्ख्या अत्यधिक छ । बस रिजर्भ गरेर पनि हजारौँ यात्रु गएका छन् । फागुन १६ गते शनिबारदेखि यो चाप अझ बढ्ने निश्चित छ ।”
तर यात्रुले टिकट नपाउने समस्या भने नरहेको सिटौलाको भनाइ छ । फागुन १९ गतेसम्म करिब आठ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान महासङ्घको छ । बसपार्क र टिकट काउन्टरमा यात्रुको चाप बढेको छ । सिटौलाले भन्नुभयो, “पहिलो त चुनावकै कारण यात्रु बाहिरिएका छन् । होली पर्व पनि परेको छ र अर्को महत्वपूर्ण पक्ष भनेको एक हप्तासम्म सार्वजनिक बिदा भएर हो ।”
बाँकी चार दिनको मात्रै समय भएकाले अग्रिम बुकिङको छुट्टै व्यवस्था नगरिएको तर बुकिङ भइरहेको उहाँको भनाइ छ । यात्रुभन्दा पनि समूह मिलेर वा राजनीतिक दलले नै ‘रिजर्भ’ गरेर लगेकाले व्यवसायीलाई त्यति दौडधुप नरहेको पनि सिटौलाले बताउनुभयो । एक हप्तामा तीन लाख यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । हप्तामा करिब ८० हजार यात्रु नियमित आउने जाने गर्छन् तर निवार्चन नजिकिएपछि उक्त सङ्ख्या तीन लाख पुगेको हो । बाँकी चार दिनमा थप तीन लाख यात्रु बाहिरिन सक्ने प्रहरीको अनुमान छ ।
उपत्यकामा चहलपहल घट्यो
निर्वाचनका लागि उपत्यकाबाहिर जानेको सङ्ख्या बढेसँगै काठमाडौँमा चहलपहल घटेको छ । सडकमा ट्राफिक जाम कम हुन थालेको छ । सडकमा सवारीको चाप न्यून रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनीलजङ्ग शाहले भन्नुभयो, “हिजोआज उपत्यकामा पट्टयारलाग्दो ट्राफिक जाम छैन । सडकमा सवारीको चाप झन्डै ५० प्रतिशतले घटेको देखिन्छ । पैदलयात्रीको सङ्ख्या पनि घटेको देखिन्छ । पहिला जस्तो सडकमा खासै चहलपहल पनि देखिएको छैन ।”
सडकमा सवारी कम भएसँगै ट्राफिक प्रहरीको उपस्थिति पनि पातलो भएको छ । ट्राफिक प्रहरी निर्वाचन सुरक्षामा खटिएकाले सडकमा उपस्थिति कम देखिएको हो । बोनेश्वर, माइतीघर जस्ता मुख्य चोकमा निर्वाचन (म्यादी) प्रहरीलाई खटाइएको छ । शाहले भन्नुभयो, “सडकमा त्यति खटिनुपर्ने अवस्था छैन । ट्राफिक प्रहरीको झन्डै ९० प्रतिशत जनशक्ति निर्वाचन सुरक्षामा उपत्यकाबाहिर खटिएको छ ।”
फागुन २० गते रातिदेखि यातायात बन्द
निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ गते बेलुका ५ बजेसम्म अत्यावश्यकबाहेकमा निजी तथा सार्वजनिक सबै सवारी सञ्चालन बन्द गरेको छ । यस अवधिमा कुनै पनि यात्रुवाहक वा व्यक्तिगत सवारी सञ्चालन गर्न पाइने छैन ।
तर एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारीसाधन भने निर्बाध रूपमा सञ्चालन हुने छन् । सञ्चारगृहलगायत अन्य सवारीसाधन भने निर्वाचन आयोगबाट पास लिएर चल्न पाउने छन् ।