• २० फागुन २०८२, बुधबार

चुनावका लागि उपत्यकाबाट बाहिरिए साढे सात लाख जना

blog

काठमाडौँ, फागुन २० गते  । निर्वाचनका अवसरमा करिब सात लाख ५० हजार मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । बुधबार साँझसम्म थप एक लाख यात्रु बाहिरिने प्रहरीको अनुमान छ । आमनिर्वाचन, होली पर्व र एक हप्ताको सरकारी बिदाले गर्दा उपत्यकाबाट बाहिरिने सङ्ख्या अत्यधिक भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मङ्गलबार एक लाखको हाराहारीमा यात्रु बाहिरिएका छन् ।  

ट्राफिक प्रहरी कार्यालयका नायब उपरीक्षक सुनीलजङ्ग शाहले मङ्गलबार करिब सात लाख ५० हजार यात्रु बाहिरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बुधबार दिउँसोसम्म यात्रु बाहिरिने छन् । लामो दुरीका सवारीमा यात्रुको चाप देखिएको छ । नियमित रुटमा सवारी सङ्ख्या थपिएका छन् ।” 

मङ्गलबार बसपार्क, कलङ्की, बल्खु, कोटेश्वरलगायतका चोकमा यात्रुको लामो लाम देखिएको थियो । निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बस सञ्चालन नहुने भएकाले मङ्गलबार यात्रुको चाप भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले बताउनुभयो । 

निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ गते बेलुका ५ बजेसम्म अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारी सञ्चालन बन्द गरेकोले रात्रि बस सञ्चालन नगरिने महासङ्घले जनाएको छ । 

फागुन २० गते दिउँसो मात्र यातायात सञ्चालन हुने छन् । २० गते राति १२ बजेसम्म गन्तव्यमा पुग्न सक्ने रुटका बस सञ्चालन हुने छन् । सरकारले निर्वाचनका लागि फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिएको छ । २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको बिदा परेको छ । फागुन १८ देखि २४ गतेसम्म सार्वजनिक बिदा रहेका छन् ।   

   

Author
लक्ष्मण दर्नाल

उहाँ गोरखापत्र दैनिकका उपत्यका समाचारदाता हुनुहुन्छ ।