गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २० गते । स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ३०१ परियोजना छनोट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आर्थिक वर्ष २०८२/८३ का लागि प्रारम्भिक चरणमा परियोजना छनोट गरेको हो ।
प्रारम्भिक सूचीमा समावेश भएका परियोजना प्रस्तावकले थप मूल्याङ्कनका लागि व्यावसायिक विवरण आगामी बुधबार पेस गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ । छनोट भएका कुल परियोजनामध्ये करिब ६५ प्रतिशतभन्दा बढी कृषि, पशुपालन, मत्स्यपालन र जडीबुटीसँग सम्बन्धित रहेको प्रतिष्ठानले जनाएको छ । प्रारम्भिक सूचीका अनुसार मुगु, डोल्पा, मधेश र उपत्यकाका धेरै नयाँ उद्यमीले स्टार्टअप कर्जा मागसहित उद्यमका लागि आवेदन दिएका छन् ।
प्रारम्भिक सूचीमा परेका प्रस्तावकको स्थलगत निरीक्षण, अन्तर्वार्ता र विस्तृत परियोजना प्रतिवेदनको मूल्याङ्कनपछि मात्रै अन्तिम रूपमा कर्जा दिने प्रक्रिया सुरु हुने छ ।
चालु आव २०८२/८३ मा कर्जा प्रदान गर्नका लागि एक अर्ब २६ करोड बजेट रहेकोे प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले मापदण्ड पूरा गरेका ९५० देखि एक हजार परियोजनालाई स्टार्टअप उद्यम कर्जा उपलब्ध गराइने जानकारी दिनुभयो ।
तीन प्रतिशत ब्याजमा पाँच लाख रुपियाँदेखि २० लाख रुपियाँसम्म कर्जा उपलब्ध गराइने गुप्ताले जानकारी दिनुभयो । आव २०८०/८१ बाट कर्जा वितरण सुरु गरिएको थियो । दुई आवमा भएको कर्जा लगानीबाट चालु आवको चैत मसान्तसम्म कर्जा ब्याजबापत १२ करोड ५५ लाख रुपियाँ सरकारलाई फिर्ता आएको प्रतिष्ठानले जनाएको छ ।