• २० वैशाख २०८३, आइतबार

विश्व प्रेस स्वतन्त्रता दिवस

प्रेस स्वतन्त्रता हननका घटना बढ्यो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २० गते । नेपालमा प्रेस स्वतन्त्रता हननका घटना गत वर्षको तुलनामा बढेका छन् । नेपाल पत्रकार महासङ्घले मे ४ सन् २०२५ देखि ३० अप्रिल २०२६ सम्म गरेको अध्ययनमा प्रेस स्वतन्त्रता हननका १३१ घटना भएका हुन् । गत वर्ष ७३ वटा मात्रै प्रेस स्वतन्त्रता हननका घटना भएका थिए । 

पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका ५१ वटा, यसै गरी पत्रकार तथा सञ्चार सामग्रीमाथिको आक्रमणका ३० वटा, पेसागत असुरक्षाका १८ र कब्जा तथा अवरोधका २६ वटा घटना भएका छन् । नीतिगत बन्देज तीन वटा, पत्रकार पक्राउ दुई जना र एक जना पत्रकारको शङ्कास्पद मृत्यु भएको अभिलेखबाट प्राप्त भएको महासङ्घले जनाएको छ । 

महासङ्घका अध्यक्ष निर्मला शर्माले यो वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना वृद्धि हुनुका साथै कानुन र नीतिगत सुधारमा चुनौती देखिएको बताउनुभयो । “पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चार माध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिम जस्ता कारणले प्रेस स्वतन्त्रता झनै चुनौतीपूर्ण बन्दै गएको छ,” उहाँले भन्नुभयो, “सञ्चार क्षेत्रको आर्थिक सङ्कट समाधान, पत्रकार पलायन, निजी सञ्चार माध्यममा सरकारी विज्ञापन तथा सूचनामा लगाइएको रोक, सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचनाले चुनौती थपिएको छ ।” उहाँले नागरिकको बोल्न पाउने अधिकारका पक्षमा अनवरत रूपमा सक्रिय भई लड्ने  प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले राजनीतिक अस्थिरता र आन्दोलन भई रहँदा प्रेस स्वतन्त्रता हननका घटना बढेको बताउनुभयो । “सञ्चारकर्मीले प्रदेश र स्थानीय तहमा भ्रष्टाचार र सामाजिक मुद्दामा लेख्दा धम्कीमा पर्ने गरेको देखिन्छ । पछिल्लो समय सामाजिक सञ्जालका माध्यमबाट प्रेसप्रति असहिष्णुता प्रकट भएको देखिन्छ । अर्को दण्डहीनता बढ्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको देखिन्छ,” उहाँले भन्नुभयो । 

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रेस स्वतन्त्रता हननका २६ वटा घटना हुँदा एक सयभन्दा धेरै पत्रकार तथा सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका थिए । गत भदौ २३ गतेको आन्दोलन र २४ गतेको हिंसात्मक घटनामा सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । उक्त घटनामा संस्थागततर्फ करिब ६० करोड रुपियाँ बराबरको क्षति भएको छ भने पत्रकार तथा सञ्चार उद्यमीको निजी सम्पत्तितर्फ करिब १८ करोड रुपियाँ बराबरको क्षति भएको छ । पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए ।