काठमाडौँ, असार २२ गते । नेपाल राष्ट्र बैँकका गभर्नर डा. विश्वनाथ पौडेलले समस्या भएका क्षेत्रलाई प्राथमिकतामा राखेर नयाँ मौद्रिक नीति आउने बताउनुभएको छ ।
आइतबार काठमाडौँमा आयोजित मौद्रिक नीति पूर्व सन्ध्या अन्तर्क्रिया कार्यक्रममा बोल्दै गभर्नर पौडेलले यस्तो बताउनुभएको हो । उहाँले निष्क्रिय कर्जा [एनपिएल] बढी भएको क्षेत्र कृषि र उद्योग क्षेत्रलाई उकास्ने गरी मौद्रिक नीति तर्जुमा भइरहेको बताउनु भयो । उहाँकाअनुसार आगामी मौद्रिक नीति वित्त नीतिले निर्देशित गरेका कार्यक्रमहरूलाई सम्बोधन तथा समावेश गरिने छ ।
गभर्नर पौडेलले भन्नुभयो–‘कृषि र उद्योग क्षेत्रमा एनपिएल बढी छ, जुन क्षेत्रमा कर्जा बढी जाओस् भन्ने चाहेका थियौँ, तर त्यही क्षेत्रमा बढी एनपिएल देखियो । बढी एनपिएल हुँदैमा ती क्षेत्रलाई छोड्न मिल्दैन, साना व्यवसायी एमएसएमई बढाएर जानुपर्ने छ, लडाइमा सबैलाई दुःख हुन्छ, हाम्रो नीति पनि त्यही अनुसारको ल्याउने गरी छलफलमा छ ।’
गभर्नर पौडेलले सबैलाई समेट्ने गरी मौद्रिक नीति ल्याइने बताउनु भयो ।