बजाज खडक वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि
बजाज खडक वारियर्सले पाँचौ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। वारियर्सले तेश्रो पटक लिगको उपाधि जितेको हो ।
समुन्नत नगर बनाउने प्रतिबद्धता
लहान नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिँदै ‘हाम्रो लहान, सभ्य सुन्दर र समुन्नत लहान’ को नारा कार्यान्वयन गर्न आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब १६ करोड २२ लाख आठ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख महेशप्रसाद चौधरीले आइतबार आयोजित नगर सभामा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुभएको हो। यसअघि नगर सभाको उद्घाटन गर्दै मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले लहान नपाको जनपक्षीय बजेट कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।
तीन पालिकाले ल्याएनन् बजेट
जनप्रतिनिधिबिचको आपसी द्वन्द्वका कारण सर्लाहीका तीन वटा स्थानीय तह आइतबार बजेट ल्याउन असफल भएका छन्। स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान गाउँ वा नगर सभामा पेस गर्नुपर्छ । तर विवाद रहेको यहाँका हरिपूर्वा नगरपालिका, हरिवन नगरपालिका र चन्द्रनगर गाउँपालिकाले बजेट ल्याउन सकेनन्। देशभरमै सबैभन्दा बढी २० वटा स्थानीय तह रहेको सर्लाहीमा अन्य पालिकाले भने आआफ्नो गाउँ तथा नगर सभामा बजेट प्रस्तुत गरेका छन्।
नागरिकता लिनेको घुइँचो
जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको नागरिकता लिन मार्गप्रशस्त भएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा घुइँचो लागेको छ । कार्यालयले दर्ता प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन आइतबारदेखि अनलाइन टोकन प्रणाली लागु गरेको छ । प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता उपलब्ध गराउने सन्दर्भमा नागरिकता वितरणमा सहज, सरल, छिटोछरितो, निष्पक्ष र पारदर्शी गर्न टोकन प्रणाली लागु गरिएको बताउनुभयो । सेवाग्राहीलाई पालो कुर्नुपर्ने झन्झटिलो र सास्ती खेप्नुपर्ने अवस्था अन्त्य गरिएको उहाँले बताउनुभयो ।
विदेह नगरपालिकाले ल्यायो ७० करोडको बजेट
धनुषाको विदेह नगरपालिकाको अगामी आर्थिक वर्ष २०८०–८१ का लागि ७० करोड पाँच लाख तीन हजार पाँच सय एक रुपियाँको आयव्ययसहितको नीति कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।
कवाडीझैँ थन्किए घुम्ती शौचालय
चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किदा सरकारी लगानी बालुवामा पानी भने झैँ देखिएको छ । शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले चासो नदिँदा ती शौचालय त्यतिकै थन्किएका हुन् ।
कमला किनारमा बाढी पर्खिरहेका माझी
केही हप्ताअघिसम्म सामान्य अवस्थामा एकनास बगिरहेको कमला नदीले असार लागेसँगै आकार बढाइसकेको छ । असारसँगै सुरु भएको वर्षाले कमला नदीमा बढेको पानीको बहावले यहाँको अस्थायी काठेपुल बगाइसकेको छ ।
चुरे भेगमा यातायात ठप्प
सर्लाहीको चुरेभेगमा यातायातका साधन ठप्प भएका छन्। शुक्रबार बिहानदेखि भारी वर्षा हुन थालेसँगै खोलाको बाटो बिग्रिएपछि चुरेभेगमा यातायातका साधन चल्न छाडेका हुन्। सडक सञ्जालमा नजोडिएको चुरेका दुर्गम बस्तीमा खोलाको बगर भएर जोखिमपूर्ण किसिमले बस, ट्याक्टर, जिपलगायतका सवारीसाधन सञ्चालन हुँदै आएका थिए। जिल्लाकै ‘कर्णाली’ भनेर चिनिने लालबन्दी नगरपालिका–१४, नारायण खोलामा शुक्रबार बिहानदेखि यातायातका साधन बन्द भएको बस व्यवसायीसमेत रहनुभएका वडाध्यक्ष छेनामसिंह घिसिङले जानकारी दिनुभयो। शुक्रबार राति भएको वर्षाले खोलाको बाटोमा थप क्षति गरेको उहाँले बताउनुभयो।
नदी कटानबाट गाउँले त्रसित
सिरहा र सप्तरीको सिमानामा पर्ने बलान नदीले पश्चिमतर्फको किनारमा जग्गा कटान गरिरहेको छ। जग्गा कटानसँगै बाढी गाउँमा पस्ने भयले स्थानीय बासिन्दा त्रसित हुन थालेका छन्। लहान–२३, तिलोबना गाउँनजिक कटान भइरहेको र थप २० मिटर जग्गा कटान भए बाढी गाउँ पस्ने जोखिम रहेको स्थानीय बासिन्दाले बताएका छन्। जग्गा कटानसँगै सम्भावित बाढीको जोखिममा गाउँका बासिन्दा त्रसित बनेको लहान–२३, करैयाका ८० वर्षीय घघन यादवले बताउनुभयो।
स्नातक अध्ययनरत छोरीलाई सम्मान
चन्द्रनगर गाउँपालिकाले स्नातक तहमा अध्ययनरत छोरीलाई नगदसहित सम्मान गरेको छ। ‘बाल विवाहको अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच वृद्धि अभियान’ अन्तर्गत गाउँपालिकाले कक्षा १२ उतीर्ण गरी स्नातक तहमा भर्ना भएका ७५ जना छोरीलाई शनिबार जनही ११ हजार रुपियाँ बराबरको चेक हस्तान्तरण गरी सम्मान गरेको हो।
कवाडी सङ्कलन गर्दै बालबालिका
लहानको मुख्य चोकमा घामपानी जस्तो सुकै मौसममा चार/पाँच जनाको समूहमा बालबालिका कवाडी सङ्कलन गरिरहेका हुन्छन्। विद्यालय उमेर समूहका दलित बालबालिका कवाडी सङ्कलन गरेर नजिकै रहेको कवाडी पसलहरूमा बिक्री गरेर दिनको दुई सयदेखि पाँच सय रुपियाँसम्म कमाइ गरिरहेका छन्।
जनकपुरधाम उपमहानगरपालिकाको २ अर्ब २८ करोड बजेट प्रस्तुत
मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको अगामी आर्थिक वर्ष २०८०–८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २ सय ९० रुपियाँको आयव्ययसहितको नीति कार्यक्रम र बजेट प्रस्तुत भएको छ ।
दुधको गुणस्तर बढाउन किसानलाई मन्त्रीको आग्रह
मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोबिन्द न्यौपानेले दुधको गुणस्तर बढाउन पशुपालक किसानलाई आवश्यक सहयोग गर्न मन्त्रालय तयार भएको बताउनुभएको छ ।
कानुनसम्मत ढङ्गले काम गर्नु पर्छ
कुनै बेला राजनीतिक, प्रशासनिक, न्यायिक, शैक्षिक क्षेत्रमा राजविराज सहरको अग्रणी नाम थियो तर अहिले देशकै पुरानामध्येको एक राजविराज नगरपालिका विकासका दृष्टिले पनि पछाडि परेको छ। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा राजविराज नगरपालिकाको उपप्रमुखमा निर्वाचित भए पनि इसरत परविनले २०७९ भदौदेखि नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। नगरका विकास चुनौती र सम्भावनाबारे कार्यवाहक प्रमुख इसरत परविनसँग गोरखापत्रका ललिता साहले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
नगरको समग्र विकासमा प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री कुर्मी
मधेश प्रदेशका वन तथा वातावरणमन्त्री रवीन्द्रप्रसाद कुर्मीले वातावरण संरक्षणको लागि सबैले वृक्षारोपण गर्नुपर्ने बताउनुभएको छ।
सामुदायिक विद्यालयका अधिकांश बालबालिका कुपोषित
रौतहटको एक सामुदायिक विद्यालयको आधारभूत तहमा अध्ययन गर्ने अधिकांश बालबालिकामा कुपोषण देखिएको छ ।
सामुदायिक विद्यालयमा शैक्षिक सुधार
लहान नगरपालिकाको सामुदायिक विद्यालयहरूको शैक्षिक सुधारको लागि नगर शिक्षा शाखा र जनप्रतिनिधिहरूले निरन्तर अनुगमन गरेपछि शैक्षिक सुधार देखिन थालेको छ ।
सर्पदंशबाट बालिकाको मृत्यु
धनुषामा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बटेश्वर गाउँपालिका –१, चित्रपुरका श्रीलाल महतोको पाँच वर्षीया छोरी सन्ध्याकुमारी महतोको मृत्यु भएको हो ।
इनारभित्र पुरुषको शव भेटियो
धनुषाको ढल्केवरमा इनारभित्र एक पुरुषको शव भेटिएको छ । बिहीबार बिहान ढल्केवरस्थित एभरेष्ट आयल स्टोर नजिक रहेको इनारभित्र एक पुरुषको शव भेटिएको हो ।
वीरगन्ज महानगरको बजेट तीन अर्ब एक्काइस करोड
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपियाँको अनुमानित बजेट ल्याएको छ । उपप्रमुख इम्तियाज आलमले बुधबार नगर सभाको १३ औँ अधिवेशनमा उक्त अनुमानित आयव्यय बजेट प्रस्तुत गर्नुभएको हो । कुल बजेटमध्ये चालुतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार रुपियाँ अर्थात् ७७ प्रतिशत र पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रुपियाँ अर्थात् २२ प्रतिशत बजेट विनियोजन
स्वस्थ रहन योग अभ्यास अनिवार्य : प्रदेश प्रमुख मिश्र
मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले रोग लाग्न नदिन नियमित योग अभ्यास अनिवार्य रहेको बताउनुभएको छ । नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार बिहान आयोजित योग अभ्यास कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
विद्यार्थीहरुलाई राहत सामग्री वितरण
ग्रामीण विकास केन्द्र नेपालले तातो हावा तथा 'लू' बाट बच्न विद्यार्थी तथा ठेलावालालाई राहत सामग्री वितरण गरेको छ ।
उखु किसानको बक्यौता रकम भुक्तानी
महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले यो वर्ष खरिद गरेका उखुको वृद्धि रकम भुक्तानी गरेको छ । मिलले प्रति क्विन्टल वृद्धि रकम २० रुपियाँको दरले पाँच करोड २६ लाख १४ हजार नौ सय ४० रुपियाँ किसानको खातामा जम्मा गरेको एभरेष्ट चिनी मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले जानकारी दिनुभयो ।
प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक : पूर्वमुख्यमन्त्री राउत
मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक रहेको बताउनुभएको छ ।