• ६ जेठ २०८१, आइतबार

कुपोषण सुधार कार्यक्रम प्रभावकारी

blog

बोदेबरसाइन समाचारदाता

बोदेबरसाइन (सप्तरी), भदौ १३ गते । सप्तरीमा कुपोषणमा सुधार आएको एक कार्यक्रमका वक्ताले बताउनुभएको छ । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना कलस्टर एकाइ सप्तरीले मङ्गलबार गरेको सार्वजनिक सुनुवाइ तथा वार्षिक कार्यक्रममा बोल्दै वक्ताले यस्तो बताउनुभएको हो । 

कार्यालयको वार्षिक समीक्षा प्रतिवेदन अनुसार जिल्लाको कुपोषण दर १० देखि ८० प्रतिशतसम्म घटेको हो । आयोजना क्लस्टर एकाइको सर्भे अनुसार उच्च कुपोषण दर भएका सप्तरीको विष्णुपुर, राजगढ र सिराहाको बरियारपट्टी र औरही गरी चार वटा पालिकामा पोषण सुरक्षा सुधार परियोजना काम गर्दै आइरहेको छ । गत आर्थिक वर्षमा पशुपालनमा पूरक अनुदान, साना सिँचाइ, दुध उत्पादन, सङ्कलन, प्रशोधन, तरकारी भण्डारण, चिस्यान केन्द्र निर्माण, माछा मासु उत्पादन, तरकारी खेतीलगायतमा १८ करोड ९८ लाख रुपियाँको कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

सिराहा र सप्तरीमा ६६५ वटा समूहमा १६ हजार ६२५ घरधुरी लाभान्वित हुने गरी काम गरिएको आयोजना कलस्टर एकाइका कृषि अधिकृत विजय मण्डलले जानकारी दिनुभयो । विष्णुपुर–३ की गीताकुमारी मण्डल दुई छोराकी आमा हुनुहुन्छ । “जेठो सन्तान पटक पटक कुपोषित भए तर खाद्य पोषण सुरक्षा सुधार कार्यालयले बनाएको समूहमा आवद्ध भएपछि खानपान शैलीमा सिकाइ भई दोस्रो बच्चा दुई वर्षको हुँदासम्म बिरामी परेको छैन,” गीताले भन्नुभयो ।

सन् २०२१ सम्म युनिसेफको प्रतिवेदन अनुसार सप्तरीमा एक सयमा २९ जना बच्चामा विभिन्न प्रकारको कुपोषित रहेको देखाउँछ । पाँच वर्षयता खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना कलस्टर एकाइ सप्तरीले सञ्चालन गरेको पोषण सुरक्षा सुधारको कार्यक्रमले १० देखि ८० प्रतिशत कुपोषणमा सुधार आएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना एकाइ सप्तरीका प्रमुख रामसोगारथ साहले जानकारी दिनुभयो । पोषण सुरक्षा सुधार क्षेत्रको विभिन्न शीर्षकमा १५ करोड १२ लाख ७१ हजार रुपियाँ बराबरको कार्यक्रम चालु आर्थिक वर्षमा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । परियोजनाबाट बहुसङ्ख्यक युवा तथा महिला लाभान्वित भएकाले विदेश जानबाट रोकेर आफ्नै माटोमा रोजगार गर्न प्रेरित गर्नुपर्ने सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो ।