नन्द सिंह
रलिङ (हुम्ला), असार १८ गते । हुम्लामा रहेका प्रदेशमातहतका कार्यालयको खर्च ह्वात्तै बढेको छ । असार महिनामा मात्रै यहाँस्थित कार्यालयको खर्च चौबरले बढेको देखिएको छ । असार १ गतेदेखि १६ गतेसम्म १३ प्रतिशत खर्च भएको प्रदेश लेखा एकाइ कार्यालयका प्रमुख रामदत्त पाण्डेले बताउनुभयो ।
हालसम्म चालु र पुँजीगत गरी ५४ प्रतिशत खर्च भएको छ । हालसम्म चालु ७० प्रतिशत र पुँजीगत ४५ प्रतिशत खर्च भएको उहाँले जनाउनुभयो । जेठ महिनाअगाडि एक करोडसम्म पनि खर्च गर्न नसकेका यहाँका विकासे कार्यालयले असार लागेपछि दैनिक करोडको खर्च गर्न थालेका छन् । जेठ र वैशाख महिना लाखको बजेट कारोबार गरेका यहाँका विकासे कार्यालयले असारमा करोड रकम भुक्तानी गरिरहेका छन् ।
असार महिना लागेदेखि विकासे कार्यालयले दैनिक हालसम्म अन्दाजी तीन करोडसम्म खर्च गर्ने गरेका छन् । असार २० गतेपछि दैनिक २० करोडसम्म खर्च बढ्ने अनुमान प्रदेश लेखा एकाइ कार्यालयको छ । यो वर्ष पनि विगतका वर्ष झै यहाँका कार्यालयले हुम्लाको विकासका लागि आएको बजेट फिर्ता पठाउने निश्चित छ । वर्षको ११ महिना विकास खर्च गर्न नसकेका यहाँका सरकारी तथा स्थानीय तहको खर्च रकम चौबरले बढेको छ ।
असार महिना लागेपछि विकासे कार्यालयको खर्चले हुम्लामा यो समस्या अझै हट्न नसक्ने देखिएको छ । हुम्लाका अधिकांश कार्यालय अन्य महिनामा कामका आधारमा खर्च गर्न नसके पनि असारमा मात्रै तात्तिने व्यवहारले केही रहम फ्रिज हुने गरेको छ । असारमा विद्युत्, इन्टरनेट र सञ्चारलगायतले काम नगरेपछि रकम फिर्ता हुने गर्छ ।