डडेल्धुरा, असार १८ गते । पछिल्ला वर्षमा घरेलु तथा साना उद्योग दर्ता बढेपनि नवीकरण गर्नेको सङ्ख्या भने घट्दो क्रममा छ । डडेल्धुरामा हालसम्म चार हजार ७८४ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । तर चालु आर्थिक वर्षको हालसम्म ६९० उद्योग मात्रै नवीकरण भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयले मङ्गलबार गरेको वार्षिक समीक्षा तथा बैंकिङ सेवासम्बन्धी सरोकारवाला एवम् उद्यमी व्यवसायीहरु बिच भएको अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख केशव भण्डारीले हालसम्म उद्योग तर्फ २५२ र वाणिज्यतर्फ ४३८ फर्म मात्रै नवीकरण भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार यस वर्ष १५५ वटा उद्योग दर्ता भएका थिए । यसै वर्ष ७८ वटा उद्योग खारेजी भएको उहाँले बताउनुभयो । डडेल्धुरामा कृषि र पशुपन्क्षी पालनका फर्म बढी दर्ता हुने गरेका छन् । कार्यालय प्रमुख भण्डारीले भन्नुभयो, ‘‘अनुदानका लागि फर्म दर्ता अनिवार्य भएका कारण दर्ता गर्नेक्रम बढेको छ । तर अनुदान नपाएपछि नवीकरण नगर्ने क्रम पनि बढेको छ ।’’
कार्यालय प्रमुख भण्डारीले हाल जिल्ला सदरमुकाममा मझौला उद्योगहरु सञ्चालनमा रहेको जानकारी दिँदै यी उद्योगहरुलाई समेत अनुदानमा सहयोग गरेको बताउनुभयो । भट्मासको तेल र सोविन बनाउने फारवेष्ट एग्रो जाईन्ट कम्पनीलाई घेरबारका लागि १० लाख अनुदानसँगै उग्रतारा पीउने पानी, जीएम सस नम्किन उद्योग, फर्निचर उद्योगलाई सहयोग गरेको उहाँले बताउनुभयो ।
पूजीगततर्फ कुल ६४ लाख २५ हजार रकम विनियोजन भएकोमा १०५ जनालाई शिप तालिम, ११ वटा उद्योगलाई प्रविधि हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । १३ लाख रकमको शिप तालिम र २० लाख रकमको प्रविधि हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । यसकासाथै कारागारका कैदीबन्दिलाई बुनाई तालिम, उखु प्रवर्धनलागयतका कार्यक्रमहरु सञ्चालन गरेको उहाँको भनाइ थियो ।