हुम्ला समाचारदाता
हुम्ला, असार १८ गते । हिमाली जिल्ला हुम्लामा अझै तुइन तर्नुपर्ने बाध्यता हटेको छैन । खार्पुनाथ गाउँपालिका– १ र २ को सिमाना पर्ने लालीबगरको कर्णाली नदीमाथि तीन वर्षदेखि त्यहाँका स्थानीयले तुइन तर्नुपर्ने बाध्यता रहेको हो ।
खार्पुनाथ गाउँपालिका–२ का बकबिर रावलले सङ्घ तथा प्रदेश सरकारले तुइन विस्थापन गर्ने योजना ल्याएको भए पनि आफूहरू कर्णाली नदी वारपार गर्न तुइनकै भर पर्नुपर्ने अवस्था रहेको बताउनुभयो । कर्णाली कोरिडोरका दुल्लीकुना लालीबगर सडक निर्माणका क्रममा लालीबगरको भिरमा रहेको झोलुङ्गे पुल भत्किएपछि गाउँपालिकाले निर्माण गरिदिएको सो तुइनबाट स्थानीयवासी वारपार गररहेका छन् । कर्णाली नदी वारी आफूहरू र पारी कर्णाली कोरिडोरको सडक नियमित रहेको अवस्थामा स्थानीय तुइन चढेर नदी पार गर्ने र अनि गाडीमा यात्रा गर्नु परेको जानकारी उहाँले दिनुभयो । हिउँदे समयमा नदीको पानी कम हुँदा खासै डर नलाग्ने भए पनि बर्खामा भने नदीमा पानीको बहाब बढेको देख्दा आङै सिरिङ हुने उहाँको अनुभव छ ।
दुई दिनअगाडि मात्र योजनाको अनुगमन गर्नु जानुभएका सिमकोट गाउँपालिकाका प्राविधिक विकास रोकायाले तुइन तरेर आफू वडा नं २ को थाली गाउँमा पुगेको बताउनुभयो । वडा नं १ बाट २ जान छ घण्टा लामो दुरी पैदल हिँड्नुपर्ने अवस्था छ भने कि तुइन तर्नु पर्छ । तुइन पनि सामान्य काम चलाउने अवस्थामा रहेको बताउँदै उहाँले त्रासले वारपार गर्नुपरेको उल्लेख गर्नुभयो । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले लालीबगरमा तीन वर्षदेखि तुइन सुचारु रहेको बताउँदै यो बाध्यताको उपज भएको बताउनुभयो । यसअघि पनि पटक पटक झोलुङ्गे पुल निर्माणका लागि सरोकारवाला निकायसँग माग गरेको भए पनि त्यो सुनुवाइ हुन नसकेको उहाँले जनाउनुभयो ।
वडास्तरमा अनुगमन वा अन्य कार्यक्रममा जाँदा आफूले पनि सो तुइन तरेको सुनाउँदै उहाँले स्थानीयलाई सुरक्षित यात्राका लागि पुल निर्माण गर्नु अति आवश्यक रहेको जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा सो स्थानमा पूर्वाधार विकास कार्यालयबाट पक्की पुल निर्माणका लागि टेन्डर आह्वान भएर निर्माण कम्पनी २०७८ सालमै छनोट भए पनि हालसम्म पनि काम सुरु गरेको छैन । यसअघि जिल्लाभर आधा दर्जन तुइन सञ्चालन हुँदै आएकोमा हाल भने लालीबगरको मात्र तुइन छ । अन्यत्र सबै विस्थापित भइरहेका छन् ।