• ४ जेठ २०८१, शुक्रबार

पत्रकार नेपालीको निधनप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

blog

वरिष्ठ पत्रकार राजेश्वर नेपालीप्रति श्रद्धाञ्जलि व्यक्त गरिदै । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, भदौ १२ गते । नेपाली पत्रकारिताका धरोहर प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार राजेश्वर नेपालीको ८० वर्षको उम्मेरमा निधन भएको छ । सोमबार साँझ ८ः०५ बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएको उहाँका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।  

उहाँको निधनप्रति मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दुःख व्यक्त गर्नुभएको छ । लामो समयदेखि बिरामी पर्नुभएका पत्रकार नेपाली गत ६ महिना देखि रोगबाट थकित भई थला पर्नुभएको थियो । यसअघि उहाँले भारतको राजधानी दिल्लीस्थित विभिन्न अस्पतालमा उपचार गराउनु भएको थियो । 

पछिल्लो लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट उहाँ पीडित हुनुहुन्थ्यो । धनुषाको बिन्धी गाविस –१, हाल जनकपुरधाम उपमहानगरपालिका–२३ बेला गाउँमा बुबा रामदुलार साह र आमा इन्द्रमणि देवीबाट वि.सं २००२ भदौ १९ गते उहाँ जन्मिनु भएको थियो ।

मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेपछि मिसन पत्रकारिताबाट आफ्नो पत्रकारिता सुरु गर्नुभएको थियो । वरिष्ठ पत्रकार नेपालीले २०१८ साल मङ्सिर २६ गतेदेखि पत्रकारिता सुरुगरी नेपाल र भारतका विभिन्न अखबारमा लेख्दै आउनुभएको थियो । 

विभिन्न आन्दोलनमा उहाँलाई समाचारकै कारण जेलनेल समेत भोग्नुपरेको उहाँका समकक्षी पत्रकारको भनाइ छ । विसं २०१५ मा जानकी नौवमी कविता लेखेर र वाचन गरेर साहित्य लेखन पनि सुरु गर्नुभएको थियो ।

नेपालीका एक छोरा,  तीन छोरी र श्रीमती हुनुहुन्छ ।  स्वर्गीय पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी नेपालीको निधनमा विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूले समवेदना व्यक्त गर्नुभएको छ । उहाँको पार्थिव शरीरलाई जनकपुरधामको नगर  परिक्रमा पछि दुग्धमति किनारमा आजै दाहसंस्कार गरिने छोरा राघवेन्द्र साहले जानकारी दिनुभयो ।  

मङ्गलबार बिहान वरिष्ठ पत्रकार नेपालीको जन्मगाउँ जनकपुरधाम उपमहानगरपालिका –२३ बेलामा अन्तिम श्रद्धाञ्जली दिन विभिन्न क्षेत्रका व्यक्तिहरूको भिड लागेको थियो । 

यसैबीच मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्र र मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकार नेपालीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्रीको निजी सचिवालयले जारी गरेको समवेदना सन्देशमा पत्रकार नेपालीको निधनले शोकमग्न रहेको उल्लेख छ ।