• ३ जेठ २०८२, शनिबार

मदन आश्रितको स्मृतिमा रक्तदान

blog

जिल्ला अस्पताल बझाङमा रक्तदान गरिँदै । तस्बिर सौजन्यः सत्यराज सिंह

सुरेश धामी

बझाङ, जेठ ३ गते । नेकपा (एमाले) का तत्कालीन महासचिव एवं जननेता मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवनराज आश्रितको ३२ औँ स्मृति दिवसको अवसरमा बझाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटी बझाङको आयोजनामा जिल्ला अस्पताल बझाङमा आयोजित कार्यक्रममा १० जनाले रक्तदान गरेका छन् । थप ३० जना रक्तदातालाई आवश्यक परेको खण्डमा तत्काल उपलब्ध गराउनेगरी तयारी अवस्थामा राखिएको एमाले जिल्ला कमिटीले जनाएको छ ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष दिलबहादुर भण्डारीले, कुनै पनि व्यक्तिले रगत अभावका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको बताउनुभयोे । 

उप–सचिव पङ्कज भण्डारीले रक्तदान मानव जीवनका लागि अत्यन्त महत्त्वपूर्ण भएको उल्लेख गर्दै अझै पनि समाजमा यसप्रति सकारात्मक सोचको कमी रहेकाले जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

त्यसैगरी, जिल्ला सचिव नयन बोहराले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तले मुलुकमा लोकतान्त्रिक परिवर्तनको जग बसाएको भन्दै नेताहरूको योगदानलाई सम्झनु वर्तमान पुस्ताको दायित्व भएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा नेकपा एमालेका जिल्ला तहका नेता कार्यकर्ता, राष्ट्रिय युवा सङ्घ नेपाल तथा अनेरास्ववियुका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।