सचिन पोख्रेल
विराटनगर, जेठ ३ गते । मोरङको रानी तथा आसपासको सीमा नाकाबाट अवैध चोरी पैठारी नियन्त्रण गर्न सुरक्षा संयन्त्र कमजोर बनिरहेको चर्चा चलेको अवस्थामा सशस्त्र प्रहरी बल प्रस्तावित सीमा गुल्म रानीको गुल्मपतिलाई फिर्ता बोलाएर नयाँ गुल्मपति पठाइएको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३ गण मोरङले सीमा क्षेत्रबाट भइरहेको तस्करी नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको ठहर गर्दै त्यहाँका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) ऋषिकेश राउतलाइ फिर्ता गरेको हो । डिएसपी राउतलाई करिब पाँच महिनामै फिर्ता गरी उहाँको ठाउँमा डिएसपी अमरबहादुर खत्रीलाई रानीमा नयाँ गुल्मपति पठाइएको सशस्त्र प्रहरी बल नम्बर ३ गण मोरङका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेले जानकारी दिनुभयो ।
सिमा सुरक्षा तथा राजस्व चुहावट नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको स्थानीय युनिटसमेतको सेटिङमा व्यापक रूपमा तस्करी हुनेक्रम बढेको सन्दर्भमा गोरखापत्र दैनिक र अनलाइनमा पटक पटक समाचार प्रकाशित भएको थियो ।
गणपति घिमिरेले रानी तथा आसपासको क्षेत्रबाट भइरहेको अवैध तस्करी नियन्त्रणमा रानी गुल्मका गुल्मपतिको भूमिका अपेक्षाकृत सकारात्मक नपाइएको र त्यस सन्दर्भमा आएको विभिन्न विषयमाथि सूक्ष्म अनुसन्धान र छानबिन गर्ने क्रममा उहाँलाई फिर्ता गरिएको बताउनुभयो ।
त्यसैगरी सीमा नाकाबाट हुने अबैध गवितिधि पूर्णरूपमा निस्तेज गर्ने क्रममा केही बोर्डर आउट पोस्ट (बिओपी) कमान्डरसमेत केही दिनभित्र परिवर्तन गर्ने योजना रेहको उहाँको भनाइ छ ।
यसैबिच, बिहीबार रातिबाटै सीमा नाकाबाट हुने अवैध तस्करी नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले रानी तथा आसपासको क्षेत्रबाट पूर्ण कडाइ गरिएको छ । यस क्रममा घरेलु प्रयोजनका लागि ठुलो परिमाणमा दैनिक उपभोग्य सामग्री ल्याउन समेत रोक लगाइएको छ ।
सिमावर्ती क्षेत्रबाट तस्करी बढेसँगै प्रादेशिक तहबाट त्यसको नियन्त्रणका लागि सशस्त्र प्रहरी बल थप सक्रियता देखाएको छ । सिमा क्षेत्रबाट तस्करीको घटना बढिरहेको र त्यसमा सुरक्षाकर्मी समेतको सेटिङ रहेको चर्चा आइरहेको समयमा कोशी प्रदेशमा केही दिन अघिमात्र आउनु भएका सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले सिमा क्षेत्रबाट तस्करी नियन्त्रण गर्ने सन्दर्भमा शुण्य सहनशीलताको अवधारणा लिएर अगाडि बढिएको बताउनुभयो ।