• ९ पुस २०८२, बुधबार

बागलुङ महोत्सवको अन्तिम तयारी

blog

बाङेचौर खेलमैदानमा बागलुङ महोत्सव अन्तिम तयारी गरिदै । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, पुस ९ गते । बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ आंैं बागलुङ महोत्सव अन्तिम तयारी भएको छ । शुक्रबारदेखि महोत्सव सुरु हुनेछ । 

बागलुङ नगरपालिका वडा १ रामरेखामा हुने महोत्सवलाई आकर्षक बनाउन संघले विशेष पहल गरेको छ । त्यसका लागि संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । अन्य क्रियाकलापलाई दुई दर्जन उपसमिति बनेका छन् । 

महोत्सवमा दुईसय व्यावसायिक स्टल रहने जनाइएको छ । त्यसबाहेक महोत्सवमा कृषि, घरेलु तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकताका साथ र कृषिको हकमा निःशुल्क स्टल दिइने भएको छ । यो पटक महोत्सवमा सुन्तलामय बनाउने लक्ष्य राखिएको छ । 

महोत्सवमा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । पुरुषतर्फ गण्डकी प्रदेशका पालिकास्तरीय खेल हुनेछन् । अहिलेसम्म १० टिमले दर्ता गरेर खेलका लागि तयारी गरेको खेल संयोजक प्रकाश थापाले जानकारी दिनुभयो । महिला भलिबलतर्फ हुने गण्डकी प्रदेशस्तरीय खेलमा अहिलेसम्म ७ टिम सहभागी बन्ने जनाइएको छ । 

महोत्सव नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नु हुनेछ । पुस १६ गते पर्यटनमन्त्रीको उपस्थितिमा बागलुङ पर्यटनसम्बन्धी चर्चा हुने र फोटो प्रदर्शन हुने संघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिनुभयो । 

यस्तै, महोत्सवमा टिकटक, कथा वाचन प्रतियोगिताजस्ता नवप्रवर्दनात्मक कार्यक्रम पनि समावेश छन् । त्यसका लागि विद्यालयका विद्यार्थीलाई बागलुङको पर्यटन, उद्योगको क्षेत्रको सकारात्मक सन्देश जानेखालका कथा तयारीमा जिम्मा समेत दिइएको छ । 

लोकदोहोरी गीत प्रतियोगिता त महोत्सवको अर्को आकर्षणकै विषय हो । यो पटक खुला लोकदोहोरी गीत प्रतियोगितासहित राष्ट्रिय कलाकारको नियमित प्रस्तुति पनि रहनेछ । अघिल्लो महोत्सवमा लोकदोहोरी प्रतियोगिता नराख्दा ग्रामीण क्षेत्रका दर्शकहरुले आलोचना समेत गर्नुभएको थियो । अब भने यो समस्या नरहने संघले जनाएको छ । 

बागलुङस्थित बाङेचौरमा गरिने महोत्सवको टिकटबाट बागलुङ उद्योग बाणिज्य संघले मानवसेवा आश्रम, नेपाल पत्रकार महासंघ लगायतलाई सहयोग गर्ने बताएको छ । गत कात्तिकमा भएको महायज्ञमा संघले ५ लाख दिने घोषणा गरेको थियो । महोत्सवबाट बचाएर रकम दिने योजना पनि शाक्यले जानकारी दिनुभयो ।