• ३ जेठ २०८२, शनिबार

‘मदन भण्डारीले देखाएको बाटो हिड्नुपर्छ’

blog

स्मृति सभामा सम्बाेधन गर्नुहुँदै एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे । तस्बिरः शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, जेठ ३ गते । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारीले देखाएको बाटोमा हिँड्नु भनेको सच्चा कम्युनिष्ट आदर्श भएको बताउनुभएको छ । 

मदन–आश्रितको ३२ औ स्मृति सभालाई चितवनको दासढुङ्गामा शनिबार सम्बाेधन गर्नुहुँदै उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद सबैभन्दा उत्कृष्ट भएको बताउनुभयो । 

उहाँले मदन भण्डारीमा अद्भूत वैचारिक क्षमता भएको नेता रहेको उल्लेख गर्दै भन्नुभयो, “कम्युनिष्ट नेतामा हुनु पर्ने गुण मात्र नभएर मदन र आश्रित क्षमतामा अव्बल हुनुहुन्थ्यो ।” 

मदन र आश्रितको परिवारले धेरै ठुलो सेक्रिफाइस गरेको भन्दै उहाँले भन्नुभयो “हामीले एक दिन दासढुङ्गामा आएर फूल चढाउँछौं, तर उहाँहरूको परिवारले अभिभावक र परिवारको मूली गुमाउनुभएको छ” परिवारको मूली मान्छे गुमाउँदाको पीडा झन ठुलो हुनेगरेको उहाँको भनाइ छ । 

जतिसुकै कठिनाई भए पनि आफ्नो दुःख नदेखाउने नेता आश्रित भएको उहाँले चर्चा गर्नुभयो । कार्ल माक्सको छोरी मर्दा शव उठाउने पैसा नभएर कोट बेचेर उठाएको चर्चा गर्दै उहाँले भन्नुभयो, “आश्रित कार्ल माक्सजस्तै नेता हुनुहुन्थ्यो ।” 

एमाले स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज नेपालको राजनीतिमा जनताको बहुदलीय जनवाद परीक्षण भएको विचारका रूपमा देशमा स्थापित भएको बताउनुभयो । 

एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेल, जीवराज आश्रितका छोरा डा. सागर न्यौपाने, कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इञ्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया, एमाले जिल्ला अध्यक्ष कमल पाठक लगायतले बोल्नुभएको थियो ।

बि.सं. २०५० साल जेठ ३ गते नारायणगढ–मुग्लिन सडक खण्डको दासढुङ्गामा नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो ।