• ३ जेठ २०८२, शनिबार

परराष्ट्रमन्त्रीसँग जापानी उपविदेशमन्त्रीको भेट

सिन्धुली बर्दिबास बाटोको सहयोगका लागि धन्यवाद

blog

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गर्नुहुँदै जापानका उपविदेशमन्त्री इकुइनो अकिको । तस्बिर:परराष्ट्रमन्त्री

काठमाडौँ, जेठ ३ गते । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले शनिबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सगरमाथा संवादमा सहभागिताका लागि हाल नेपालमा रहनुभएका उपविदेशमन्त्री अकिकोले आज सगरमाथा संवाद कार्यक्रमस्थल होटल सोल्टीमा सो साइडलाइन भेट गर्नुभएको हो ।

भेटका अवसरमा मन्त्री डा. राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी हुनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । साथै मन्त्री डा. राणाले सिन्धुली बर्दिबास बाटोको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


गत वर्ष आएको अविरल वर्षाका कारण सो बाटोमा ठुलो क्षति पुगेको छ । जापान सरकारको अनुदानमा निर्मित सो बाटोको मर्मत तथा पुनर्निर्माणका लागि नेपाल सरकारले अनुरोध गरेपछि जापानले सहयोग गर्ने भएको हो ।

त्यसैगरी, सो भेटका क्रममा मन्त्री डा. राणा र जापानी उपविदेशमन्त्रीबिच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिकलगायतका क्षेत्रमा विगत लामो समयदेखि जापानले पुर्‍याउँदै आएको सहयोगका लागि पनि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

मन्त्री डा. राणाले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायका पक्षमा ऐक्यबद्धता र सहयोगका लागि जापानसँग आग्रह पनि गर्नुभएको थियो ।