सिराज खान
नेपालगन्ज, जेठ ३ गते । सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको नेपालगन्जस्थित अस्पतालमा मस्तिष्कघात भएका बिरामीको उपचारलाई ध्यानमा राखेर विशिष्टिकृत सेवा दिन सुरु गरिएको छ ।
मस्तिष्कघात भएर गम्भीर अवस्थामा पुगेका बिरामी अस्पतालमा पुगे लगत्तै तत्कालल नै उपचार गर्ने गरी सुविधा सम्पन्न कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर पहिलो पटक सुरू गरिएको अस्पतालका न्यूरोसाइन्सेस विभाग प्रमुख कन्सल्टेन्ट न्यूरोसर्जन डा.मनिष कोलाक्षपतीले बताउनुभयो ।
सञ्जिवनी कलेजमा कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा प्राइमेरी स्ट्रोक केयर सेन्टरको एक कार्यक्रमका बिच अस्पतालका संस्थापकहरु डा.सुरेशकुमार कनोडिया र डा.एम किदवाईले सुभारम्भ भएको घोषणा गर्नुभयो ।
कार्यक्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सिइओ डा.सन्तोष विएन, डा.केदार अग्रवाल, सञ्जिवनी कलेजका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रोमन किदवाई, भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी, बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुभाष पाण्डेलगायत वरिष्ठ चिकित्सकहरूको उपस्थिति रहेको थियो ।
मस्तिष्कघात भएका गम्भीर बिरामीको उपचार नेपालगन्जस्थित सञ्जिवनी अस्पतालमा रहेको कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर हुने छ भने नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा प्रारम्भिक मस्तिष्क घातको केयर र उपचार हुने छ ।
कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टरमा १६ बेडको छुट्टै आइसीयू वार्ड सञ्चालनमा ल्याइएको छ । कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टरमा कन्सल्टेन्ट न्यूरो सर्जन डा.मनिष कोलाक्षपतीको नेतृत्वमा एमसिएच न्यूरो सर्जन डा.निरज घिमिरे, एमडी/डीएम कार्डियोलोजिस्ट डा. कृष्णचन्द्र अधिकारी, कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. लेखनाथ बराल, न्यूरो क्रिटिकल केयर, एनेथेसियोलोजिष्ट, इमरजेन्सी तथा न्यूरो रिहाबिलिटेसनको टीम तैनाथ छ ।
यसैगरी नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्राइमेरी स्ट्रोक केयर सेन्टरमा एमए÷ एमसिएच न्यूरो सर्जन डा.सुवोध गौतमको नेतृत्वको टिम बिरामीको उपचारमा खटिएको छ ।
मस्तिष्कघातका कारण मानिसहरूको अकालमा ज्यान गुमाउने अनुपात अस्वभाविक रूपमा बढ्दै जानु र कतिपय मानिसहरू आजिवन अपाङ्गता भएर जीवनभर अरूकै भरमा बाँच्नुपर्ने अवस्थालाई ध्यानमा राखेर डेडिकेटेड स्ट्रोक सेन्टर सञ्चालनमा ल्याइएको सञ्जिवनी अस्पतालका सिइओ डा.नितेशकुमार कनोडियाले जानकारी दिनुभयो ।
पश्चिम नेपालमै पहिलो पटक सुरु गरिएको सो सेन्टरमा बिरामीलाई मस्तिष्कघात भएको चारदेखि पाँच घण्टाभित्र ल्याउन सकेमा तत्काल उपचार सेवा दिएर बचाउन सकिने सञ्जिवनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोमन किदवाईले बताउनुभयो ।
उहाँले स्ट्रोकबारे समुदायस्तरमा सचेतना फैलाउन आवश्यक रहेको जनाउँदै सञ्जिवनी कलेजले अव पालिकाहरूसँगको सहकार्यमा समुदायस्तरमा सचेतना फैलाउने गरी योजना अगाडि बढाएको पनि बताउनुभयो ।