• ४ जेठ २०८१, शुक्रबार

साढे दुई सय उद्योग खारेज

blog

कलैया समाचारदाता

बारा, भदौ १२ गते   । आर्थिक मन्दीलगायत विविध कारणले जिल्लामा सञ्चालन भएका घरेलु तथा साना उद्योगसहित दुई सयभन्दा बढी पसल व्यवसाय बन्द भएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालय बारा कलैयाका अनुसार आर्थिक वर्ष २०७९/८० मा ९८ वटा घरेलु तथा साना उद्योगको लगतकट्टा भएको छ भने वाणिज्यतर्फ १६१ गरी २५९ वटा उद्योग खारेज भएका  छन् । बन्द र खारेजको मुख्य कारण भने बैङ्क ब्याज र लगातारको आर्थिक मन्दी नै रहेको व्यवसायी बताउँछन् ।

घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख धर्मेन्द्रलाल कर्णका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फर्म बढी छन् । बन्द हुने उद्योगमध्ये कृषि तथा वनजन्य उद्योग बढी छन् । आधिकारिक रूपमा बन्द गराउनेको सङ्ख्या यो भए पनि धेरै उद्योग तथा व्यवसाय बन्द भएर कार्यालयबाट सम्पर्कविहीन भएको अवस्था छ । उद्योग र व्यवसाय बन्द भए पनि आधिकारिक रूपमा बन्द नगराइएको व्यवसायी बताउँछन् । 

केही वर्षअघि विश्व महामारीका रूपमा रहेका कोभिड–१९ को प्रभाव, त्यसपछि बैङ्कले वृद्धि गरेको ब्याज र लगातारको आर्थिक मन्दीका कारण उद्योग तथा वाणिज्य फर्म बन्द भएका हुन् । उद्योग तथा वाणिज्य फर्महरू बन्द भएपछि अहिले पनि बजारमा व्यावसायिक सटर खाली छन् भने उद्योगी तथा व्यवसायी विस्थापित भएका छन् । आव २०७९/८० को एक वर्षको अवधिमा ८९९ वटा घरेलु तथा साना उद्योग दर्ता भएको र ८०६ वटा उद्योग नवीकरण गरी जम्मा एक हजार ७०५ वटा रहेका छन् । यसै गरी ८६६ वटा वाणिज्य (पसल) दर्ता भएको र एक हजार ५८ नवीकरण गरी एक हजार ९२४ वटा (पसल) सञ्चालनमा रहेका छन् । घरेलु तथा वाणिज्यमा चालु तथा स्थिर पुँजी गरी ५७ करोड ७५ लाख सात हजार रुपियाँ लगानी भएको छ । त्यसमध्ये ३० करोड २५ लाख ९७ हजार चालु पुँजी र २७ करोड ४९ लाख १० हजार स्थिर पुँजी रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । त्यसबाट यस वर्ष एक करोड ३४ लाख ३५ हजार ७३० रुपियाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी तथा नायब सुब्बा अमोदकुमार यादवले बताउनुभयो । दर्ता भएका उद्योगमा ९११ जना उद्यमी थपिएका छन् । त्यसमध्ये ३९० महिला र ५२१ पुरुष रहेका छन् । आव २०७८/७९ मा ८१० महिला र ९५६ पुरुष उद्यमीको सङ्ख्या रहेको थियो ।  

उत्पादनमूलक उद्योग १३८, कृषि तथा वनजन्य ९९८, पर्यटन चार, सेवामूलक २८२ र लघु चार गरी ८९९ वटा उद्योग रहेका छन् । त्यसमा आजको दिनसम्म एक हजार ६६२ महिला र दुई हजार ७८४ पुरुष गरी चार हजार ४४६ जनाले रोजगार प्राप्त गरेका छन् । आव २०७८/७९ मा तीन हजार १६८ महिला र सात हजार ९४६ पुरुष गरी ११ हजार ११४ जनाले रोजगार प्राप्त गरेका थिए ।