रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), असार १८ गते । गुल्मीदरबार गाउँपालिका–६ की २२ वर्षीय सृष्टि नेपालीलाई दुबोको माला लगाउँदा केहीबेर अप्ठ्यारो महसुस भयो तर बिस्तारै उहाँलाई पनि आमा बन्न थालेको कुराले गम्भीर बनायो र खुसी पनि दिलायो । उहाँलाई माला लगाइदिने महिला स्वयंसेविका सरस्वती बस्याललाई पनि सृष्टिको काँधमा दुबोको माला पहिराइदिएपछि खुसीको सीमा रहेन । उहाँले भन्नुभयो, “म र सृष्टि दुवै भावुक बन्यौँ ।”
गुल्मीदरबार गाउँपालिकाले आयोजना गरेको पोषण शिक्षा तथा पोसिलो कोसेली वितरण कार्यक्रममा गर्भवती सृष्टिलाई माला लगाएर नाङ्लोभरि हरेक बार खाना चारसहितको पोसिलो कोसेली प्रदान गरिएको थियो । स्वास्थ्य स्वयंसेविका बस्यालले सन्तान जन्माउने महिलाका लागि लुकेर नभई खुलेर समाज र परिवारको माया दिलाउन आफूहरू अनवरत लागेको बताउनुभयो ।
गुल्मीदरबार गाउँपालिकाले स्थापनाकालदेखि नै मातृ तथा नवजात शिशुको ख्याल गर्न ‘कस्तो छ आमा’ कार्यक्रम सञ्चालन गरेको थियो । दुई वर्षपछि कार्यक्रमलाई केही हेरफेर गरेर ‘मेरी आमा स्वस्थ आमा’ कार्यक्रम निरन्तर कार्यान्वयन गरिरहेको छ । यो कार्यक्रममार्फत महिला गर्भवती भएदेखि प्रसूति भएर बच्चा दुई वर्ष नपुग्ने बेलासम्म विभिन्न रचनात्मक सहयोग र सचेतनाका काम हुने गरेका छन् । पहिलो गर्भ परीक्षण र तौल लिँदा ‘उपाध्यक्ष कोसेली’ मार्फत अन्डा वितरण गर्ने गरिएको छ ।
गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले नियमित गर्भजाँच, घरमै पुगेर स्वास्थ्य परीक्षण, निःशुल्क एम्बुलेन्स, पोसिलो कोसेली वितरणलगायत गर्ने गरिएको जानकारी दिनुभयो । गुल्मीदरबारमा वार्षिक सरदर दुई सयभन्दा बढी महिला गर्भवती हुने गरेका छन् । गाउँपालिकाभरिमा ८३ स्वास्थ्य आमा समूहमार्फत गर्भवतीको नियमित निगरानी, पोषण प्रवर्धनलगायतका काम हुने अर्यालले बताउनुभयो । गुल्मीदरबार गाउँपालिका नेपालमै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । स्वास्थ्य संयोजक अर्यालले अहिले पूर्ण पोषणमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्न पोषण प्रवर्धनका विभिन्न कार्यक्रम भइरहेको बताउनुभयो । अर्यालले आगामी आर्थिक वर्षबाट प्रत्येक वडाका विद्यालयमा र सरोकारवालासँग पोषणका विषयमा बहस पैरवी र अभियान सञ्चालन गर्ने बताउनुभयो ।
गाउँपालिकाले आगामी आवका लागि नीति तथा कार्यक्रममा प्रसूति सेवा, ‘क’ वर्गका अपाङ्ग तथा विपन्न र ८५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले स्वास्थ्य र सरसफाइसम्बन्धी तोकिएका सूचक पूरा गर्ने परिवारलाई सम्मान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष तारा थापाले आर्थिक सामाजिक क्षेत्रभन्दा पूर्वाधारलाई मात्र विकास देख्ने प्रवृत्ति र सीमित स्रोतसाधनका कारण स्थानीय तहले नागरिकका सबै आशा पूरा गर्न नसकेको बताउनुभयो ।