हुम्ला, असार १८ गते। दुर्गन्धबाट जोगाउन, सफा र स्वच्छ नाम्खा गाउँपालिका राख्न अध्यक्ष प्रेमबहादुर लामाको नेतृत्वमा अभियान सञ्चालन भएको छ। शिक्षित, स्वच्छ र सफा अभियानमा नाम्खा गाउँपालिका अभियानमा अध्यक्ष लामाको नेतृत्वमा जनप्रतिनिधिको टोली जुटेको हो।
अध्यक्ष लामाको नेतृत्वमा स्वच्छ, सफा र सुन्दर गाउँपालिका बनाउने अभियानको सुरुवात भएको उक्त गाउँपालिकाका योजना अधिकृत मोहनबहादुर शाहीले बताउनुभयो। सुरुवात नाम्खा गाउँपालिका–४, याल्वाङ र याङ्गार गाउँमा अध्यक्ष लामा सहितका जनप्रतिनिधि र कर्मचारी पुगेर टोल टोलमा सरसफाइ अभियान आरम्भ भएको छ। अध्यक्ष सहितको टोली गाउँघरका घरआँगनमा आएर फोहोर सङ्कलन गर्ने कार्य गर्न थालेपछि स्थानीय पनि जुटेका छन्।
“शिक्षित तथा स्वच्छ नाम्खा, स्वावलम्बी नाम्खाली’’ भन्ने मुल नारालाई आत्मासाथ यो अभियानले सफा र सुन्दर नाम्खा निर्माणमा सहयोग पुग्ने विश्वास उहाँँले व्यक्त गर्नुभयो। अब सम्बन्धित व्यक्तिले नै घरआँगन र टोलको सरसफाइको जिम्मा लिनुपर्ने अन्यथा कारबाहीको भागीदर हुनु पर्ने खानेपानी सरसफाइ तथा स्वच्छता परियोजनाका गाउँपालिका संयोजक दन्तबहादुर शाहीले बताउनुभयो।