सिराज खान
नेपालगन्ज, असार १८ गते । कर्णाली विकास बैँकको घोटाला प्रकरणमा प्रहरीले सो बैँकका तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्रलाई नेपालगन्जबाट पक्राउ गरेको छ । उहाँ विसं २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैँकको अध्यक्ष हुनुहुन्थ्यो ।
बैँकका पूर्व अध्यक्ष मिश्रलाई नेपालगन्जबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले पुष्टि गर्नुभयो । उहाँले मिश्रलाई सिआइबीको टोलीले पक्राउ गरेको जनाउँदै सोही टोलीले अनुसन्धान गर्ने बताउनुभयो ।
मिश्रसँगै यो ठगी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको छ । यसअघि बैँकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैँकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ ।
पक्राउ परेकाहरूलाई बाँकेमा नै राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । सिआइबीबाट डिएसपी दानबहादुर थापाको कमान्डको एउटा टोली नेपालगन्ज आएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पक्राउ परेकाहरू विरुद्ध बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैँकको समन्वयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कर्णाली विकास बैँकमा अहिलेसम्म दुई अर्ब ५० करोड रुपियाँ हिनामिना भएको भन्दै उजुरी परेको छ । कर्णाली विकास बैँक २०६० सालमा स्थापना भएको थियो । अपचलनमा संलग्न मुख्य व्यक्ति रायको कर्णाली विकास बैँकमा करिब ८० प्रतिशत संस्थापक सेयर छ । उहाँ बैँक स्थापनादेखि नै कार्यकारी अध्यक्ष तथा सिइओका रूपमा करिब १५ वर्षसम्म कार्यरत हुनुहुन्थ्यो ।