• १८ असार २०८२, बुधबार

बजेटमाथि सत्तापक्षकै आलोचना

blog

धनगढी समाचारदाता

धनगढी, असार १८ गते । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेटमाथि सत्तापक्षकै प्रदेश सभा सदस्यले कडा टिप्पणी गर्नुभएको छ । 

प्रदेश सभामा बजेटमाथिको छलफलमा मङ्गलबार भाग लिँदै नेपाली कांग्रेसका शिवराज भट्टले नीति तथा कार्यक्रमभन्दा भिन्नै रूपमा बजेट आएको जिकिर गर्नुभयो । बजेटमा दीर्घकालीन र मध्यकालीन योजना नरहेको भन्दै उहाँले शङ्कास्पद योजनाको छानबिन गर्नुपर्ने माग गर्नुभयो । “एउटा छानबिन आयोग गठन गरी शङ्कास्पद योजनालाई यथावत् राखेर अरूलाई पास गर्नु पर्छ,” भट्टले भन्नुभयो । 

त्यस्तै नेकपा (एमाले) को प्रमुख सचेतक चक्रबहादुर मल्लले आलोचनात्मक टिप्पणीसहित बजेटप्रति समर्थन जनाउनुभयो । उहाँले योजना खरिदबिक्रीको परिपाटी अझै नरोकिएको भन्दै थप्नुभयो, “अघिल्लो सरकारले रोपेको बिचौलियाको बिउ अहिले फल्न थालेको छ । हिजो र आजको बिचौलियामा धेरै फरक छैन ।”

कट्टामा पैसा ल्याऊ डोकोमा योजना लैजाऊ प्रवृत्ति प्रदेशमा हाबी रहेको उहाँको दाबी थियो । यद्यपि सरकारको बजेटले समृद्धिको आधार खडा गरेको मल्लले उल्लेख गर्नुभयो । 

नेपाली कांग्रेसका गीता चौधरीले बजेटमा समेटिएका एक हजारदेखि पाँच लाखसम्मका योजना कार्यान्वयन हुन नसक्ने बताउनुभयो । उहाँले डालो र झुन्डिएको योजना नियन्त्रण हुन नसकेको भन्दै नीति तथा कार्यक्रमलाई धेरै हदसम्म समेटेर बजेट आएको उल्लेख गर्नुभयो । प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का शिवसिंह ओलीले संसद्को धारणा बजेटमा नसमेटिएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमलाई प्रदेश सरकारको बजेटले छुन नसकेको उल्लेख गर्नुभयो । 

प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) का माया पन्तले सदनलाई उपेक्षा गरेर आएको बजेटले प्रदेशको समस्या समाधान गर्न नसक्ने जिकिर गर्नुभयो । त्यस्तै प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमादेवी विष्टले नीति तथा कार्यक्रम आउँदा आशावादी भए पनि बजेटले निराश बनाएको बताउनुभयो । नीति तथा कार्यक्रमभन्दा फरक बजेट ल्याएर सरकारले प्रदेशको जनताको भविष्यमाथि खेलवाड गरेको उहाँको भनाइ थियो । प्रतिपक्षी स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशीले प्रदेशको हकमा कृषि धेरै महत्वपूर्ण र प्राथमिक क्षेत्र रहेकाले त्यसमा बढी बजेट हुन आवश्यक रहेको औँल्याउनुभयो । अर्थतन्त्रमा बजेटले के असर पार्छ भन्ने कुरा महत्वपूर्ण रहेको भन्दै उहाँले कृषिपछि मात्रै उद्योगमा लगानी गर्नुपर्ने उल्लेख गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र) का लक्ष्मी विकले बजेट बनाउने प्रणाली नै ठिक नरहेको भन्दै बजेटमाथिको छलफल पनि औचित्यहीन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जति छलफल गरे पनि न बजेट संशोधन हुन्छ न त सच्याइन्छ । बहुमतले पारित भइहाल्छ नै ।”

माओवादीकै ओमविक्रम भाट सरलले बलियो सरकारले कमजोर र वितरणमुखी बजेट ल्याएको भन्दै यसले प्रदेशको समृद्धि नहुने टिप्पणी गर्नुभयो । उहाँले प्रतिपक्षीभन्दा पनि सत्तापक्षकै बजेटमाथि चर्को आलोचना रहेकाले बजेट कस्तो छ भन्ने कुरा स्पष्ट भएको उल्लेख गर्नुभयो । बजेटमाथि थप छलफलका लागि बुधबार प्रदेश सभाको बैठक बोलाइएको छ ।