नेपालगन्ज समाचारदाता
नेपालगन्ज, असार १८ गते । बाँकेको नरैनापुर गाउँपालिका–६ र राप्तीसोनारी गाउँपालिका–७ को बिचमा पर्ने खल्लाझगडियामा राप्ती नदीले कटान तीव्र पारेको छ । पहाडी जिल्लाहरूमा वर्षा निरन्तर भइरहेकाले राप्ती नदीमा पानीको बहाब बढ्दै जाँदा खल्लाझगडियामा कटान रोक्न निर्माण गरिएको बाँसको अस्थायी तटबन्धसमेत बगाउने अवस्था भएपछि डुबानको त्रास बढेको हो ।
कटान रोक्न निर्माण गरिएको बाँसको अस्थायी तटबन्ध बगाउँदै नदी गाउँतिर तेर्सिन सक्ने जनाउँदै नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले यसबाट नरैनापुर र राप्तीसोनारीका आधा दर्जनभन्दा बढी गाउँका करिब ६० हजार बासिन्दा डुबान र बाढीको उच्च जोखिममा परेको बताउनुभयो ।
उहाँले हालको अविरल वर्षाका कारण नदीले बाँसको तटबन्ध बगाएर कटान बढाउँदै खेतबारी र बस्तीमै पस्ने खतरा बढेको बताउनुभयो । अध्यक्ष शाहले भन्नुभयो, “राप्ती नदीले कटान गर्दै धार नै परिवर्तन गर्न सक्ने जोखिम छ, त्यसैले तत्काल स्थायी तटबन्ध निर्माणको काम सुरु गर्नु आवश्यक छ । मैले यसका लागि निरन्तर पहल गरिरहेको छु ।”
अध्यक्ष शाहले नदी नियन्त्रणका लागि ‘जनताको तटबन्ध कार्यक्रम’ का कार्यालय प्रमुखसहितको टोलीले स्थलगत निरीक्षण गरिसकेको पनि जानकारी दिनुभयो । खल्लाझगडियाका स्थानीय अरुण यादवले दुई वर्षअघिको बाढीले भत्काएको तटबन्ध अझै पुनर्निर्माण नगरिँदा राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका देउपुरा, पिप्रहवा, खल्लाझगडिया, गेदुवा, गङ्गापुर, सोनवर्षा खुदरबेटवा र कडुवालगायत गाउँका ६० हजार जनसङ्ख्या बाढीको अत्यधिक जोखिममा रहेको बताउनुभयो । उहाँले अहिले नै नदीले बाँसको अस्थायी तटबन्ध भत्काउन थालेकाले ठुलो पानी परेमा राप्ती नदीमा आउने बाढी गाउँबस्तीतिर पस्ने निश्चित देखिएको बताउनुभयो ।
राप्ती नदीको कटान र बाँसको तटबन्धको अवस्था बुझ्न बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगर, सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक शोभाकान्त खनाल, नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ का सभापति पोषण केसीलगायतले स्थलगत निरीक्षण गरी सावधानी अपनाउन स्थानीयसँग अपिल गर्नुभएको छ ।
राप्ती नदीको बहाब उच्च भएको र अस्थायी तटबन्ध कमजोर बन्दै जाँदा नदी गाउँतर्फ पस्ने अवस्था बढ्दै गएको अधिकांश स्थानीयले जनाएका छन् । उनीहरूले तत्काल स्थायी तटबन्ध निर्माणको माग गर्दै आफूहरू बाढी र डुबानको त्रासले रातभर जाग्राम बस्न बाध्य रहेको बताएका छन् ।