• १९ असार २०८२, बिहिबार

सोमालियाको राजधानी मोगादिशुमा अफ्रिकी संघको हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

blog

मोगादिशु, असार १८ गते । सोमालियाको राजधानी मोगादिशुमा बुधबार बिहान भएको एक हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा तीन जनाको ज्यान गएको छ । उक्त हेलिकोप्टर अफ्रिकी संघको ‘सोमालियामा सहयोग तथा स्थायीत्व स्थापनार्थ मिशन’ अन्तर्गत सञ्चालनमा रहेको थियो ।

युगान्डाबाट खटिएको सैनिक टोलीद्वारा सञ्चालन गरिएको सो हेलिकोप्टर बिहान करिब साढे सात बजे मोगादिशुको अदन अब्दुले हवाइ मैदानमा आकस्मिक रूपमा अवतरण गर्न खोज्दा दुर्घटना भएको हो । हेलिकोप्टर बालेडोग्ले सैनिक हवाई आधारशिविरबाट उडेको थियो ।

मिशनले जारी गरेको विवरण अनुसार, सो हेलिकोप्टरमा आठ जना सवार थिए, जसमध्ये तीन जनालाई तुरुन्तै उद्धार गरी अस्पताल लगिएको छ । उनीहरूको अवस्थाबारे थप जानकारी दिइएको छैन । बाँकी यात्रु तथा चालक दलका सदस्यहरूको खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।

प्रहरी अधिकृत अब्दी अलीले भन्नुभयो,“दुर्घटनास्थलबाट केही व्यक्तिहरूलाई निकालिएको थियो, तिनीहरूलाई बोकेर लैजाँदै गर्दा तीन जनाको ज्यान गएको पुष्टि भएको छ ।” प्रत्यक्षदर्शी मोहम्मद यारेले भन्नुभयो,“मैले केही मानिसको ज्यान गएको देखेँ, तर कति जना थिए भन्ने यकिन गर्न सकिनँ ।” रासस/एएफपी