एमालेले बनायो प्रदेश निर्वाचन परिचालन कमिटी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशले आसन्न निर्वाचनका लागि प्रदेश निर्वाचन कमिटी गठन गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश अध्यक्ष विनोदकुमार शाहको संयोजकत्वमा ३१४ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो ।
हुम्लाका गाउँपालिकाको बेरुजु ३१ करोड भन्दा बढी
जिल्लाको सात वटै गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु ३१ करोड भन्दा बढी रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयद्वारा सार्वजनिक भएको वार्षिक प्रतिबेदन अनुसार ठुलो मात्रामा बेरुजु भएको पाइएको छ ।
अधिकांश सदस्य बैठकमा अनियमित
कर्णाली प्रदेश सभा बैठकको साढे चार वर्षको अवधिको दसौं अधिवेशन अवधिसम्म २१५ वटा बैठक बसेको छ। प्रदेश सभाका अधिकांश बैठकमा प्रदेश सभा सदस्य चाहिँ प्रायः नियमित देखिएनन्। प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङका अनुसार यस अवधिमा सबैभन्दा बढी बैठकमा अनुपस्थित पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही हुनुभयो। प्रदेश सभाको बैठक २१५ दिन बस्दा ९७ दिन मात्रै शाही बैठकमा उपस्थित हुनुभएको थियो।
दिवा खाजाले विद्यार्थी नियमित
सरकारी विद्यालयमा घट्दो विद्यार्थी सङ्ख्यालाई रोक्न सरकारले आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम ल्याएको छ। साना बालबालिका विद्यालयमा भर्ना भई नियमित पढ्न आएबापत दैनिक २० रुपियाँका दरले खाजा रकम उपलब्ध गराउने वा विद्यालयमै खाजा खुवाउने गरिएपछि भर्ना दर बढेको पाइएको छ। खाजाले विद्यालयमा भर्ना मात्र होइन नियमित पनि हुन थालेका छन्।
एक हजारभन्दा बढी दरबन्दी रिक्त
कर्णालीमा मन्त्रालय र मातहतका कार्यालयमा अहिले पनि झन्डै ४० प्रतिशत कर्मचारी अपुग छन् तर स्वीकृत दरबन्दीअनुसार कर्मचारीको पदपूर्तिका लागि भने कमै माग गरिएको छ । प्रदेशमा दुई हजार ८६२ स्वीकृत दरबन्दीमध्ये एक हजार ७२२ जनाको मात्रै पदपूर्ति भएको छ । अहिले पनि एक हजार १४० पद रिक्त छन् । आयोगका अनुसार हाल प्रदेश मातहतमा साताैँ र आठौँ तहका गरी ३४३ जना कर्मचारी माग गरिएको छ । लोकसेवा आयोगमा कर्णाली प्रदेशअन्तर्गत सातौँ तहका लागि २९२ पदको विवरण पेस भएको छ । आठौँ तह मेडिकल अधिकृत, आयुर्वेद चिकित्सक, डेन्टल सर्जन गरी ५१ जनाको विवरण प्रदेशले आयोगमा पेस गरेको हो ।
मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
कर्णाली प्रदेशको मुुगुलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।
घरभित्र भेटियो राज गोमन
रुकुमपूर्व सिस्ने गाउँपालिका –६ छिप्रिदहको एक घरभित्र भेटिएको राज गोमन (किङ कोब्रा) सर्पलाई नियन्त्रणमा लिई सुरक्षित स्थानमा छाडिएको छ । सिस्ने–६ छिप्रिदहको घरभित्र मङ्गलबार साँझ राज गोमन नामक सर्प भेटिएको हो ।
परम्परागत धानेको राडीपाखी व्यवसायबाट परिवार पाल्नै धौधौ
छायाँनाथ रारा नगरपालिका–१४ का चन्द्रलाल बुढाको रोजगारी भनेकै भेडा, बाख्रापालन व्यवसाय हो । उहाँ भेडा र बाख्राको उन हरेक वर्षको चैत र असोज महिनामा उन संकलन गर्नुहुन्छ । उहाँ मात्र होइन यहाँका अधिकांश स्थानीयको आयस्रोत नै यही हो ।
नब्बे वडामा कांग्रेस अभियान
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा विजयी हासिल गर्ने अभियानका साथ कांग्रेसले जनतासँग कांग्रेस अभियान थालेको छ। दैलेखका दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन जित्ने सङ्कल्पका साथ जिल्लाका ९० वडामा जनतासँग कांग्रेस अभियान सञ्चालन गरेको हो। नेपाली कांग्रेसका नेता गणेश उपाध्यायले पार्टी केन्द्रको निर्देशन र कार्यक्रमअनुसार जिल्लाका सबै वडामा जनतासँग कांग्रेस कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले जिल्लाका ९० वडामा कार्यक्रम जनतासँगै कांग्रेस अभियान समापनसँगै दलित महिला लक्षित भेटघाट र क्रियाशील सदस्यसँग भेटघाट कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
विकास माग्न पाँच दिनको यात्रा
हुम्लाको चङ्खेली गाउँपालिका–२, दार्माकी मोतीसरा शाहीसहित पाँच जनाको टोली विकासको माग गर्दै आइतबार सुर्खेतस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आइपुगेको छ। टोली पाँच दिन लगाएर विकास माग्नका लागि मन्त्री भेट्न प्रदेश राजधानी सुर्खेत आएको हो। कर्णाली प्रदेशका १० वटै जिल्लाबाट जनताले निर्वाचित गरी पठाएका प्रतिनिधि पटक–पटक मन्त्री भए तर कर्णालीभित्रको ‘कर्णाली’ले भने विकासजस्तै मन्त्री पनि देख्नै मुस्किल छ।
मुगुमा धार्मिक मेला सुरु
मुगुमा गुरादेव, बिजयगुरादेव लगायतका धार्मिक मेलाहरू सोमबारदेखि सुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्त्व राख्ने मेलाहरू कोरोनाका कारण अघिल्ला दुई वर्ष हुन सकेका थिएनन् । यस पटक मेला सुरु भएपछि जिल्लाका गाउँ बस्तीमा चहलपहल सुरु भएको छ।
पुँजीगत खर्च कम
मुगु जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयले समयमै कार्यक्रम सञ्चालन नगरिदिँदा आव २०७८÷७९ मा आधा मात्रै पुँजीगत खर्च भएको छ । कर्णाली प्रदेश सरकारका मन्त्रालयले जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयलाई समयमै कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि नदिँदा विनियोजित पुँजीगत बजेटको ५५ प्रतिशत मात्रै खर्च भएको हो । यस जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँपालिका–७ को लिब्रुखोला भालु सिँचाइ उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर शाहीले कर्मचारीको काम गर्ने तौरतरिका पुरानै हुँदा काम गर्न गाह्रो भएको बताउनुभयो । उहाँले सम्बन्धित निकायले समयमै सम्झौता गरी काम सम्पन्न भएपछि भुक्तानी गरिदिनुपर्ने माग गर्नुभयो । प्रदेश मन्त्रालयको कार्यविधिको ढिलाइका कारणले गत वैशाखमा मात्र योजनाको सम्झौता गरिएको थियो ।
राजधानी व्यवस्थित गर्न साझा अभियान
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर यतिबेला अस्तव्यस्त छ। व्यवस्थित ढल नहुँदा सानो वर्षा हुनासाथ सडक जलमग्न हुने गर्दछ। पार्किङ नहुँदा बजार क्षेत्रभित्र यातायातका साधन असरल्ल पार्किङ हुने गरेका छन्। समयमै फोहोर सङ्कलन नहुँदा चोकचोकमा फोहोरको डङ्गुर लाग्ने गरेको छ। वीरेन्द्रनगरको यस्तो अस्तव्यस्त अवस्था देखेपछि सरकारी तथा गैरसरकारी क्षेत्रले साझा अभियान सञ्चालन गरेर व्यवस्थित बनाउने योजना बनाएका छन्। सोमबार वीरेन्द्रनगरमा फोहोरमैला विसर्जन, सडक ट्राफिक तथा पार्किङ व्यवस्थापनका लागि बृहत् अभियानको सुझाव सङ्कलन कार्यक्रमको आयोजना गरी साझा अभियान थाल्न ढिलो गर्न नहुने जनाइएको छ।
चिनो खेती गर्न थाले किसान
कालीकोट जिल्लाका किसानले फेरि चिनो खेती गर्न थालेका छन् । केही वर्षदेखि लोप हुँदै गएको चिनो खेती पछिल्लो समय माग बढेपछि पुनः सुरु हुन थालेको हो । कालीकोट जिल्ला बाहिरबाट चिनोको माग बढेपछि किसान यसको खेतीतर्फ आकर्षित भएका हुन् । तीन दशक पहिले कर्णालीमा धेरै मात्रामा उत्पादन हुने रैथाने बाली चिनो, कागुनो, फापर, कोदो पछिलो समय लोप हुने अवस्थामा पुगेको थियो ।
बाँझो जग्गा उपयोग गर्न ऐन पारित
कर्णाली प्रदेश सरकारले बाँझो जग्गा उपयोग गर्न ऐन ल्याएको छ । प्रदेश सभाबाट पारित ‘कर्णाली कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७९’मा बाँझो राखिएको जग्गा सम्बन्धित जग्गाधनीको मञ्जुरीमा प्रदेश सरकारले उपयोगमा ल्याउनसक्ने व्यवस्था छ । सो ऐनमा व्यावसायिक कृषि करारको व्यवस्था गरिएको छ । कृषियोग्य जग्गा कृषि परियोजनाबमोजिम सार्वजनिक जग्गाको हकमा स्थानीय तहको सिफारिसमा र वन क्षेत्र नभएको सामुदायिक वनको जग्गाको हकमा स्थानीय तह र सम्बन्धित वनको सहमतिमा प्रदेश सरकारले निश्चित सीमा तोकी करारमा लिने दिने व्यवस्था मिलाउन सक्नेछ ।
हुम्ला एमालेद्वारा २५ जनाको नाम सिफारिस
आगामी मङ्सीर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जिल्लाबाट नेकपा (एमाले) ले २१ जनाको नाम सिफारिस गरेको छ । दुुई दिनसम्म सञ्चालन भएको जिल्ला कमिटी बैठकबाट भएको निर्णयअनुसार सो नाम सिफारिस गरेको हो ।
करोडौँको बहुप्राविधिक भवन प्रयोग विहीन
कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा दुई वर्ष अगाडी बहु प्राविधिक धारका लागि जिल्लामा भौतिक संरचना निर्माण भए पनि पढाई भने सुरु हुन सकेको छैन । एक करोड बिस लाख खर्च गरेर भवन निर्माण भए पनि पढाइ सुरु नहुँदा राज्यको लगानी खेर गएको छ ।
करोडौँ लगानीको एकीकृत भवन प्रयोगहीन
करोडौँ लगानीबाट निर्माण गरिएको जिल्लाको एकीकृत भवन यतिबेला प्रयोगहीन छ। निर्माण सम्पन्न भएको पाँच वर्षसम्म पाँचवटा सरकारी कार्यालय सञ्चालन गर्ने प्रयोजनका लागि निर्माण गरिएका एकीकृत भवन अहिले खाली छन् भने उता सबै कार्यालय भाडाको घरमा बस्दै आएका छन्। आठ करोड ८० लाख लागतमा निर्माण भएको भवन अहिले सरुवा रोग अस्पतालको बोर्ड राखेर कब्जा गरिएको छ। निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि हस्तान्तरण भएको छैन। कोरोना सङ्क्रमण फैलिएपछि तत्कालका लागि आइसोलेसनका रूपमा उक्त भवन प्रयोग गरिएको थियो। २०७६ सालयता कहिले कोरोना अस्पताल, कहिले सरुवा रोग अस्पतालको बोर्ड राख्ने गरेकाले पाँचवटा सरकारी कार्यालय भाडाको घरमा बस्न बाध्य भएको बताइएको छ।कोष तथा लेखा नियन्त्रकको कार्यालय कालीकोटका निमित्त प्रमुख युवराज महताराले कोरोनाले गर्दा केही भन्न नसकेर आफूहरू भवन निर्माणपछि पनि भाडाको घरमा बस्दै आएको बताउनुभयो। उहाँले वार्षिक रूपमा भाडाबापत पाँच लाख ४० हजार रुपियाँ तिर्दै आएको सुनाउनुभयो। अहिले सरुवा रोग अस्पताल भयो भनिएको छ तर अस्पतालमा एक जना पनि बिरामी नआउने, दुई/चार जना कर्मचारी बसेर भवन कब्जा गरेको आफूले सुनेको उहाँले बताउनुभयो।
छोराको आशामा चौध छोरी
दैलेखको दुल्लु नगरपालिका–३ का अम्मरबहादुर बुढा ५० वर्षको हुनुभयो। उहाँ श्रीमतीभन्दा पाँच वर्ष जेठो हुनुहुन्छ। उहाँहरूको विवाह भएको तीन दशकभन्दा बढी भयो। यो बीचमा उहाँहरूका १४ सन्तान जन्मिए। छोरी धेरै जन्मनुका कारण छोराको आशा र आफन्तको दबाब नै थियो। उहाँहरूलाई थोरै सन्तान भए जीवन सहज हुन्छ भन्ने थाहा नभएको पनि होइन तर छिमेकी र समाजले बाँझो, अपुतोजस्ता खिन्न लाग्ने शब्द सुन्नबाट बच्न उहाँहरूले १४ सन्तान जन्माइसक्नुभएको छ।
प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी
प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । शनिवार अस्पतालमा मिर्गौला प्रत्यारोपण सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा अस्पताल प्रशासनले स्वास्थ्य सेवा विभागबाट अनुमति पाए लगत्तै सेवा सुरु गर्ने जनाएको छ ।
पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको दैलेख लोहोरे सडकखण्डको सिमाडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
बाख्रा चराउन जाँदा एक युवतीकाे भीरबाट खसेर मृत्यु
जिल्लाको कुशे गाउँपालिका - २ टालेगाउँमा भीरबाट खसेर एक युवतीको ज्यान गएको छ । शनिबार बाख्रा चराउन गोठालो गएका अन्दाजी १८ वर्षीया लिला सिंहको ज्यान गएको हो ।
प्रहरी चौकी चुहिने घरमा
जनताको सुरक्षामा खटिएका प्रहरी आफैँ पानी चुहिने घरमा बस्न बाध्य भएका छन्। उत्तरी चीनसँगको सीमाको यारी प्रहरी चौकीका प्रहरीहरू आफ्नै भवन नभएकाले भाडा लिएको माटोले छापेको घरमा बसेका छन्। प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक तेजबहादुर ऐरीले माटोले छापेको घर भएका कारण पानी पर्नेबित्तिकै चुहिने गरेको बताउनुभयो। चौकीमा खटिएका प्रहरी पानी पर्दा रातभर जाग्राम बस्नुपर्ने वा स्लिपिङ ब्यागभित्र बस्नुपर्ने बाध्यता रहेको छ। उहाँले यस्तो समस्या हरेक वर्ष प्रहरीले भोग्दै आएको बताउनुभयो। एकतले र माटोले छापेको घर भएका कारण पानी पर्दा एउटै कोठामा दसतिर पानी चुहिने समस्या भोग्नुपरेको उहाँको भनाइ छ।
सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार
जाजरकोटमा एक सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । नलगाड नगरपालिका ८ लुपानाकी २७ वर्षीया लक्ष्मी वलीलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो ।