• १४ वैशाख २०८१, शुक्रबार

तातोपानीका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल

blog

तातोपानी गाउँपालिका जुम्लामा मोबाइल वितरण गरिँदै । तस्बिर – नेत्र शाही, जुम्ला ।

नेत्र शाही

जुम्ला, चैत ८ गते । तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ । गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलो हुने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको हो । 

तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंका अनुसार तातोपानीका उहाँहरुलाई सूचना प्रभावकारी गर्न सादा मोबाइल सेट वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले उहाँहरुलाई मोबाइल वितरण गर्नुभएको छ । 

मङ्गलबार तातोपानी गाउँपालिका वडा नम्बर १, २ र ३ का २६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको हो । गाउँपालिकामा जम्मा ६७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नै मोबाइल वितरण गरिने भएको छ । अव अन्य स्वयंसेविकालाई वितरण गर्ने गाउँपालिकाले जानकारी दिएको छ । 

स्वयंसेविका काली शाहीले गाउँपालिकाले यो सेवा दिएकोमा धन्यवाद दिँदै अन्य व्यवस्थापनमा ध्यान दिन अनुरोध छ । स्वयंसेविका मोतिपुरा रावतले नेपाल सरकार र स्थानीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको जीवनयापनको विषयमा ध्यान दिन अनुरोध गर्नुभयो । 

स्वास्थ्य संयोजक चौलागाईंका अनुसार अहिले तातोपानी गाउँपालिकाले मासिक पाँच सय रुपियाँ खाना खाजा र यातायातका लागि सहयोग गर्दै आएको र सङ्घीय सरकारले एक वर्षमा पोशाकसहित २२ हजार रुपियाँ उपलब्ध गरिँदै आएको जानकारी दिनुभयो ।