• ७ वैशाख २०८१, शुक्रबार

वर्षापछि हिमपात

blog

जाजरकोट समाचारदाता

जाजरकोट, चैत ८ गते । तीन दिनदेखिको वर्षाले जाजरकोटवासीको जनजीवन प्रभावित भएको छ। पाक्न लागेको बालीनाली नष्ट गरेको छ। जिल्लाको बारेकोट, कुशे र जुनीचाँदे गाउँपालिकामा पाक्न लागेको गहुँ जौ, र तरकारी तथा फलफूल बालीमा क्षति पु-याएको छ। पाक्न थालेको बालीनाली र फलफूलको फूल नष्ट गरेपछि कृषक चिन्तित छन्। 

कुशे गाउँपालिकाका कृषि प्राविधिक धीरेन्द्र बस्नेतले असिनासहितको वर्षाले गर्दा कृषकको बालीनालीमा क्षति पुगेको बताउनुभयो। खाद्यान्न निकै कम उत्पादन हुने क्षेत्र र त्यसैमा वर्षा र असिनाले क्षति गर्दा त्यहाँ भोकमारीको सम्भावना बढेपछि कृषक चिन्तित बनेका हुन्।

अत्यधिक वर्षाका कारण मानिसको आवतजावत र विकास निर्माणका कामसमेत प्रभावित भएको छ। बारेकोट र कुशे गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिमपातसमेत भएको छ। जसले गर्दा अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनाएको छ।

हुम्लामा हिमपात

हुम्ला समाचारदाताका अनुसार हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ। यस वर्षको यो तेस्रो हिमपात हो। गत माघ दोस्रो साता पहिलो पटक र माघ तेस्रो साता दोस्रो हिमपात भएको थियो। 

मङ्गलबार बिहानैदेखि पानी परेको र दिउँसोबाट सदरमुकाम सिमकोटमा हिउँ जम्न थालेको हो। प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार हिमपातले जनजीवन प्रभावित भएको छ। दिउँसोबाट हिउँ जम्न थालेको र हिउँ पर्ने क्रम जारी रहेकाले चिसो बढेको छ।

लामो समयसम्म खडेरी परेका बेला हिमपात भएपछि स्थानीय र बालबालिका भने हिउँमा रमाउन थालेका छन्। हिउँ पर्न सुरु भएपछि दिउँसै यहाँको तापक्रम माइनस सात डिग्री सेल्सियसमा झरेको छ। 

चिसो बढेपछि सर्वसाधारण तथा कार्यालयमा काम गर्ने कर्मचारीलाई समस्या भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखालाई खाद्यान्न बिक्री गर्न कठिन भएको छ। सदरमुकाम सिमकोटभन्दा माथिल्लो क्षेत्रमा झनै बाक्लो हिउँ परेको छ। 

सिमकोट गाउँपालिकाको छोबाखोर पञ्चमुखी, लब्लीडाँडा, रलिङ गुम्बा, चाङ्ला हिमाल र नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारा लेक, यारी, मुचु, चाला, न्यालु लेकमा बढी हिमपात भएको बताइन्छ। 

हिमपात भएपछि किसान भने खुसी भएका छन्। हिमपातले जेठासी बाली जौ, उवा र गहुँलाई राम्रो, स्याउ तथा ओखरका बिरुवा लगाएकोमा ती उम्रने छन्। कात्तिके बाली लगाउने बेला भएका कारण किसान खुसी देखिन्छन्।