• २७ असोज २०८२, सोमबार

गाजाबाट मुक्त हुनेमा छैन विपिन जोशीको नाम

blog

विपीन जोशी

जेरुसेलम, असोज  २७ गते । इजरायल र हमासबीच युद्धविराम भएसँगै गाजामा बन्दी बनाइएका जीवित बन्दीमध्ये रिहा हुने अपेक्षा गरिएका २० जनाको सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम समावेश भएको छैन । सम्झौताअन्तर्गत इजरायलले २२ जना अझै जीवित रहेको विश्वास गरेको थियो ।  

यद्यपि बाँकी दुई जना जीवित बन्धकमा जोशी पनि हुनसक्ने आशा जीवितै छ । उक्त युद्धविराम सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न भएको हो ।

यी बन्धकहरू सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको ऐतिहासिक आक्रमणका क्रममा अपहरणमा परेका थिए । उक्त आक्रमणलाई इजरायलको इतिहासकै सबैभन्दा घातक घटना मानिन्छ ।

हमासको सशस्त्र शाखाले सोमबार आफ्नो टेलिग्राम च्यानलमार्फत रिहा हुने बन्धकहरूको नामावली सार्वजनिक गरेको छ । नामावलीमा समावेश २० जनामध्ये अधिकांशलाई हमासले गाजापट्टीका विभिन्न स्थानमा बन्दी बनाएको थियो । तीमध्ये केही सैनिक, केही नागरिक र केही विदेशी नागरिकता भएका इजरायली छन् ।

रिहा हुने बन्धकहरूमा निम्न व्यक्तिहरू रहेका छन् : मतन एङ्ग्रेस्ट, गली र जिव बर्मन, एल्काना बोबोट, रोम ब्रास्लाभस्की, निम्रोद कोहेन, डेभिड र एरियल कुनियो, इभ्यातार डेभिड, गाइ गिलबोआ दलाल, म्याक्सिम हर्किन, इटन हर्न, सेगेव काल्फोन, बार कुपरस्टीन, ओमरी मिरान, एटान मोर, योसेफ हैम ओहाना, एलोन ओहेल, अविनातन ओर र मतन जाङ्गाउकर ।

यी सबै व्यक्तिहरू हमासद्वारा विभिन्न समयमा सार्वजनिक गरिएका भिडियोहरू र प्रत्यक्षदर्शी बयानहरूमा देखिएका थिए । उनीहरूमध्ये धेरैजना सुपरनोभा सङ्गीत महोत्सवका सहभागी, सैनिक वा सीमावर्ती क्षेत्रका बासिन्दा थिए ।

इजरायली अधिकारीहरूले बन्धकहरूको सुरक्षित फिर्तीका लागि आफ्नो कूटनीतिक प्रयास जारी रहेको बताएका छन् । इजरायली राष्ट्रपतिका अनुसार युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा यी २० जनाको रिहाइ हुनेछ भने बाँकी बन्धकहरूको फिर्तीका लागि छलफल अघि बढ्नेछ ।

हमास र इजरायलबीचको यो सम्झौता सन् २०२३ अक्टोबरमा सुरु भएको दुई वर्षभन्दा बढीको युद्ध अन्त्यतर्फको एक महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । ट्रम्पले प्रस्ताव गरेको २०–बुँदे शान्ति योजनाको प्रारम्भिक कार्यान्वयनका रूपमा यो आदानप्रदान सम्पन्न हुन लागेको हो ।

रिहा हुने बन्धकहरूका परिवारहरू तेल अभिव र जेरुसेलममा भेला भई आफ्नो प्रियजनको सुरक्षित फिर्तीका लागि आभार व्यक्त गरिरहेका छन् ।

इजरायली सरकारका अधिकारीहरूका अनुसार ‘यी नागरिकहरूको फिर्ती हाम्रो सामूहिक दृढता र अन्तर्राष्ट्रिय साझेदारीको परिणाम हो । गाजाबाट आफ्ना प्रियजनहरू सुरक्षित फर्कँदा देशभर राहत र खुसीको वातावरण छाएको छ ।”

चौबिस वर्षीय नेपाली युवा विपिन आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुग्नुभएको थियो । उहाँ कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत हुनुहुन्थ्यो ।

कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाका क्रममा फ्याँकिएका ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपिन घाइते भएर अपहरणमा पर्नुभएको थियो । रासस/एएफपी