• २७ असोज २०८२, सोमबार

खुल्यो अवरुद्ध फिदिम–फालौट सडक

blog

फेमे खोलाकोे अवरोध हटाइएसँगै डाइभर्सनबाट आउजाउ गर्दै सवारी साधन । तस्बिर– राधा लुइटेल

राधा लुइटेल 

फिदिम, असोज २७ गते । फिदिम–याङनाम–फालौट सडक सञ्चालनमा आएको छ । यो सडक फिदिम नगरपालिका–१ र ११ को सिमावर्ती फेमे खोलामा आएको बाढीले क्षति गरेपछि एक सातादेखि अवरुद्ध थियो ।

अवरुद्व सडक पूर्वाधार विकास कार्यालय पाँचथरले एक्साभेटर र प्राविधिक परिचालन गरेर खुलाएको छ । बाढीले कल्भर्ट र डाइभर्सन बगाएको क्षेत्रमा २२ वटा ह्युमपाइप राखेर पानी कटाउन पाँच सय मिटर सडक क्षेत्रमा नयाँ ट्रयाक खोलेसँगै सडक सञ्चालनमा ल्याइएको पूर्वाधार विकास कार्यालयका प्रमुख सैलेन्द्र सिंहले जानकारी दिनुभयो ।

यो खोलाको पक्की पुल २०८१ असोज १२ को बाढीले बगाएको थियो । त्यसपछि पटक–पटक अवरुद्ध हुँदैआएको फेम खोलाखण्डमा बनाइएको कल्भर्ट र डाइभर्सन पुनः असोज १७ गते बगाएपछि यो सडक अवरुद्ध थियो ।

सडक अवरुद्ध हुँदा फिदिम नगरपालिका १०, ११, १२ र १३ नम्बर वडासँगै फालेलुङ गाउँपालिकाका विभिन्न स्थानमा खाद्यान्न र उपभोग्य वस्तु लैजान तथा मानिसलाई आउजाउ गर्न समस्या थियो । अवरोध हटाइएसँगै फिदिमतर्फबाट खाद्यान्न बोकेका पिकअप फेमे पारी जान थालेका छन् । खोला पारी अडकिएका साधन सदरमुकामतर्फ अघि बढेका छन् ।