राप्ती लोकमार्ग मर्मत गर्न निर्देशन
जिल्ला प्रशासन कार्यालय सल्यानले राप्ती लोकमार्ग र त्यसका सहायक सडकको मर्मत गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। जिल्लाका सडकको निर्माण, मर्मत पुनर्निर्माणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा जिल्लामा अवरुद्ध विभिन्न सडक र सहायक सडकको मर्मत तत्काल सुरु गर्न प्रजिअ विपिन आचार्यले निर्देशन दिनुभएको हो।
बजार क्षेत्रकै सडक विस्तार अलपत्र
वीरेन्द्रनगर नगरपालिकाकाले मुख्य बजार क्षेत्रको सडक विस्तार योजनाको काम अघि बढाउन सकेको छैन। सडक विस्तार योजना एक वर्षदेखि अलपत्र छ। नगरपालिकाले बारम्बार सूचना जारी गरी अतिक्रमित क्षेत्रबाट घरटहरा, टेलिफोन तथा खानेपानीका पाइपलाइन, पर्खालजस्ता संरचना हटाउन आग्रह गर्दै आएको छ। सडक विस्तार तथा स्तरोन्नतिका लागि सम्झौता भएको एक वर्ष बितिसक्दा पनि काममा उल्लेखनीय प्रगति भएको देखिएको छैन। गत वर्ष भदौ १७ गते सडक स्तरोन्नतिका लागि सम्झौता भएको थियो। निर्माण कम्पनीले २०८० जेठ मसान्तसम्म उक्त सडक निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ। समय निकै घर्किसक्दा पनि नगरपालिकालाई सडक क्षेत्रका संरचना हटाउन हम्मेहम्मे परेको छ। विद्युत्, खानेपानीजस्ता सेवा प्रदायक निकायले समेत आफ्ना संरचना सार्न ढिलाइ गर्दा सडक विस्तारको काम प्रभावित बनेको हो।
विद्यार्थीलाई कम्बल सहयोग
५८ औं बाल दिवसको अवसरमा हिमाली छात्रावासमा अध्ययनरत विद्यार्थीलाई कम्बल सहयोग गरिएको छ । छात्रावासमा बस्दैआएका बिद्यार्थीलाई कपडाको समस्या भएको पाइएपछि सिमकोट गाउँपालिकाले कम्बल सहयोग गरेको हो ।
बालबालिकासँग मुख्यमन्त्री
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बालबालिकाले विभिन्न प्रश्न सोधेर आफ्ना जिज्ञासा मेटाएका छन्। सामाजिक विकास मन्त्रालयले आयोजना गरेको बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा २० जना बालबालिकाले मुख्यमन्त्री शाहीलाई विभिन्न प्रश्न गरेका छन्। मुख्यमन्त्रीसँग बालबालिकाले बालविवाहपीडितको अवस्था, छात्रवृत्ति, निःशुल्क पढाइ, प्रदेशको समृद्धिको खाकालगायतका बारेमा प्रश्नहरू सोधेका थिए।
भाइरल ज्वरोका बिरामी बढे
हुम्लामा चार दिनयता ज्वरो आउने र रुघाखोकीका बिरामी बढेका छन्। यस्ता बिरामीको सङ्ख्या बढेपछि अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप वृद्धि हुन थालेको छ। स्वास्थ्यकर्मी प्रेम भण्डारीले तीन÷चार दिनयता अस्पतालमा आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो। दैनिक एक सयभन्दा बढी ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, रुघाखोकीका बिरामी आउने गरेको जानकारी उहाँले दिनुभयो।
अझै तिरस्कृत छन् कुष्ठरोगी
उपचार गरेपछि निको भएका कुष्ठरोगका बिरामीले अझै पनि समाजमा अपहेलनाको जिन्दगी बिताउन बाध्य भइरहेको पाइएको छ। सामाजिक अचेतना र अन्धविश्वासले कुष्ठरोगीहरू यस्तो तिरस्कारपूर्ण जीवन बिताउन बाध्य भएका हुन्। हुम्ला जिल्लाको जनसङ्ख्या ५५ हजार ७६२ रहेको छ। त्यसमध्ये कुष्ठरोगीको सङ्ख्या कुल जनसङ्ख्याको शून्य दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ।
स्थानीय तहका योजनालाई प्राथमिकता दिनुपर्छ : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशको समन्वय परिषद्को बैठकले प्रदेश सरकारबाट योजना छनोट गर्दा स्थानीय तह मार्फत प्राप्त योजनाहरुलाई प्राथमिकता दिने निर्णय गरेको छ ।
सय दिनका उपलब्धि सार्वजनिक
यहाँका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको एक सय दिनका उपलब्धि सार्वजनिक गरेका छन्। जिल्लाको नारायण नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका र गुराँस गाउँपालिका–८ ले सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्। आइतबार नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले एक सय दिनका उपलब्धि सार्वजनिक गर्दै सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार नारायण नगरपालिकाको विकासको मार्गमा अगाडि बढेको बताउनुभयो। उहाँले नारायण नगरपालिकालाई स्वच्छ, सुन्दर व्यवस्थित, विभेदरहित र सुशासनयुक्त पालिकाका रूपमा थप विकास गर्ने उद्देश्यलाई विशेष जोड गरिएको बताउनुभयो।
समन्वय नगरिएको भन्दै कार्यक्रम बहिष्कार
रुकुमपश्चिमको मुसीकोट नगरपालिकाका उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्यले नगरपालिकाले आयोजना गर्ने कार्यक्रम बहिष्कार गर्ने जनाएका छन्। नगरप्रमुखले समन्वयबिनै कार्यक्रम गरेको भन्दै उनीहरूले आफ्नै नगरपालिकाका कार्यक्रम बहिष्कार गर्ने जनाएका हुन्। आफूहरूसंग समन्वय नै नगरेर नगरप्रमुख महेन्द्र केसीले महत्वपूर्ण कार्यक्रम र निर्णय गर्न थालेपछि समन्वयबिनाका कार्यक्रम बहिष्कार गरेको नगर उपप्रमुख विमलकुमार पुनले बताउनुभयो। अधिकांश कार्यक्रमबारे आफूहरूले पछि मात्र सूचना पाउने गरेको उहाँले जनाउनुभयो। नगरपालिकाबाट हुने कार्यक्रममा नगरप्रमुखले आफूहरूसँग समन्वय नगरेको, कार्यपालिकाको निर्णय किर्ते गरेको, आवश्यकताभन्दा बढी कर्मचारीलाई सरुवा अनुमति दिएको जस्ता आरोप उनीहरूले लगाएका छन्।
नवौँ राष्ट्रिय खेलकुदमा कर्णाली २९ खेलमा सहभागी हुने
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट प्रक्रिया पूरा गरी बन्द प्रशिक्षण दिने थालेको जनाएको छ ।
सदगुरूद्वारा सिमकोट विमानस्थलमा प्रवचन
सदगुरू ( जग्गी वासुदेव ) ले सिमकोट विमानस्थलमा धार्मिक पर्यटक र सर्वसाधारणका लागि प्रवचन दिनुुभएको छ । लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता हुने क्रममा उहाँले सो प्रवचन दिनुु भएको हो ।
अनुदानकै आसमा महिला उद्यमी बढे
दर्ता राजस्वमा छुट, सरकारी अनुदान र बैङ्कबाट ऋण पाउने लोभले रुकुमपश्चिममा पछिल्लो समय महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढ्दो छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुमपश्चिमका अनुसार कार्यालयमा दर्ता हुन आएका उद्योगी तथा व्यवसायीमा महिलाको सङ्ख्या बढिरहेको छ। कार्यालयका सूचना अधिकारी शेरबहादुर ओलीले गत आर्थिक वर्षमा दर्ता भएका ६३० वटा व्यवसायमध्ये ३२४ वटा महिलाको नाममा दर्ता भएको पाइएको छ। पुरुषको नाममा उद्योगतर्फ १९९ र वाणिज्यतर्फ १०७ वटा गरेर ३०६ वटा व्यवसाय दर्ता भएका छन्। कार्यालयको तथ्याङ्कअनुसार महिलाको नाममा १६४ वटा उद्यम र १६० वाणिज्यतर्फका व्यवसाय दर्ता भएका छन्।
बारेकोटको स्वास्थ्य सेवा उत्कृष्ट
जाजरकोटका सातवटा स्थानीय तहमध्ये बारेकोट गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट काम गरेको छ। जिल्ला स्वास्थ्य सेवा कार्यालयको वार्षिक समीक्षामा बारेकोटले विगत वर्षझैँ यस वर्ष पनि प्रथम स्थान हासिल गरेको जनाइएको छ। स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख नवराज कँडेलका अनुसार ४३ वटा सूचकमा गरिएको तथ्याङ्कमा बारेकोटले ६६.७१ प्रतिशत प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो।
तिब्बतबाट च्याङ्ग्रा नआउने
यस वर्षको दशैँमा चीनको तिब्बती क्षेत्रबाट हुम्लालगायत साबिक कर्णालीका हिमाली जिल्ला र सुदूरपश्चिम प्रदेशको बझाङ र बाजुराका लागि च्याङ्ग्रा नआउने भएका छन् । कोरोना महामारीका कारण हुम्ला जिल्लामा पर्ने तिब्बतका चारवटा नाका बन्द रहेका कारण च्याङ्ग्रा ल्याउन समस्या भएको हो । यतिखेर हिल्सा, लाप्चा, चुवाँखोला र ताँके नाकाबाट दशैँका लागि चीनको तिब्बती क्षेत्रबाट च्याङ्ग्रा आउन सुरु हुनुपर्ने हो । तर, अहिलेसम्म एउटा च्याङ्ग्रा पनि भित्रिएको छैन । यसअघि असार साउनमै आउनुपर्ने च्याङ्ग्रा पनि आएनन् ।
जनता आवास कार्यक्रमबाट बनेका घर मान्छे नबस्दै जीर्ण
जनता आवास कार्यक्रमबाट निर्माण भएका घरहरु सेवाग्राही नबस्दै जीर्ण भएका छन् । डिजाइन इष्टिमेटअनुुसार निर्माण भएका घरमा सेवाग्राहीले बस्न नमान्दा घरहरु जीर्ण बनेका हुन् ।
विद्युत् उत्पादन लक्ष्य पूरा नहुने सङ्केत
कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको प्रथम पञ्चवर्षीय योजनामा पाँच वर्षभित्र प्रदेशमा दुई सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा नहुने सङ्केत देखिएको छ। पञ्चवर्षीय योजना लागू भएको तीन वर्षभन्दा बढी समय भइसक्दा पनि कर्णाली सरकारले ऊर्जा तथा विद्युत् उत्पादनका क्षेत्रमा ठूला आयोजनाको काम अघि बढाउन सकेको छैन।
राजनीतिक आडमा पाँच सय हेक्टर वन अतिक्रमण
जिल्लाका सातवटै पालिकामा गरी करिब पाँच सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ। स्थानीयले वन फँडानी गरी पाँच सय हेक्टर बढी क्षेत्रफलमा अतिक्रमण गरी घरटहरा बनाउनुका साथै खेतीपाती गरेका छन्। जिल्लाका थाप्लेचौर, ठाँटी, शान्तिचौतारा खगेनकोट, नायकवाडा, सक्ला, लहँ, ढिमे, बाटुले, गाईखुर, पाँचकाटिया, पैक, सुवानाउली, साल्म, दमाशेरा, जुँगाथापाचौर, कार्कीगाउँ, जगतिपुरलगायतको सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको छ। सदरमुकाम खलङ्गास्थित डिभिजन वन कार्यालय आसपासकै वन क्षेत्रसमेत अतिक्रमणमा परेको छ। यद्यपि, वन कार्यालयले सो सम्बन्धमा कुनै कारबाही अघि बढाउन सकेको छैन।
जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला : मुख्यमन्त्री शाही
जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्लाका आठै पालिकाका सबै बालबालिकाले खोप प्राप्त गरेपछि बिहीबार पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्नुभयो । मुख्यमन्त्री शाहीले जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुनु भनेको स्वास्थ्य स्थितिमा सुधार आएको सन्देश दिएको बताउनुभयो ।
वीरेन्द्रनगरमा डेङ्गुको जोखिम उच्च
सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा डेङ्गु रोगको उच्च जोखिम बढेको छ। सुर्खेतमा १०५ जना डेङ्गु रोगका बिरामीमध्ये वीरेन्द्रनगरका मात्रै ७५ जना रहेका छन्। वीरेन्द्रनगर नगरपालिकाको जनस्वास्थ्य शाखाका अनुसार सुर्खेतका नौवटा स्थानीय तहमध्ये वीरेन्द्रनगर उच्च जोखिममा रहेको छ। डेङ्गु रोगलाई नियन्त्रण गर्नुको विकल्प छैन । नियन्त्रणको मुख्य उपाय डेङ्गु बोक्ने लामखुट्टेको खोजी र नष्ट गर्नु नै रहेको विज्ञ बताउँछन्।
रारा तालकाे गहिराइ र पानी गुणस्तर सर्वेक्षण सुरु
नेपालको सबैभन्दा ठूलो रारा (महेन्द्र) तालको गहिराइ र पानीको गुणस्तर सर्वेक्षण सुरु भएको छ । सर्वेक्षणको लागि विभिन्न संस्थालाई जिम्मेवारी समेत दिइएको छ ।
महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग
रुकुमपश्चिमका महिला अधिकारकर्मीले आगामी निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् । संविधानले तोकेबमोजिम प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न उनीहरूले माग गरेका हुन्। मानवअधिकारका लागि महिला, एकल महिला जिल्ला सञ्जाल रुकुमपश्चिमले जिल्ला सदरमुकाम खलङ्गामा आयोजना गरेको ‘निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक छलफल कार्यक्रममा महिला अधिकारकर्मीले यस्तो बताएका हुन्। अधिवक्ता मनीषा भण्डारीले यो वा त्यो बहानामा महिला प्रतिनिधित्वलाई कम गर्ने कुरा स्वीकार गर्न नसकिने बताउनुभयो। उहाँले गठबन्धनका नाममा महिला प्रतिनिधित्व कम हुन सक्नेतर्फ दलहरू सचेत रहन आग्रहसमेत गर्नुभयो।
नागरिक समाजको बेवास्ता
महिला, बालबालिका र युवाका नीति निर्माणमा स्थानीय सरकारले नागरिक समाजलाई बेवास्ता गर्दै आएको गुनासो नागरिक समाजका अगुवाको छ। वीरेन्द्रनगरमा भेला भएका कर्णाली प्रदेशका चार जिल्लामा क्रियाशील नागरिक समाजका प्रतिनिधिले सरकारी निकायले आफूहरूप्रति बेवास्ता गरेको आरोप लगाएका छन्। तीनै तहका सरकारले नीति निर्माणदेखि सार्वजनिक महत्त्वका सवालमा नागरिक समाजलाई समेट्न नसकेको उनीहरूको गुनासो छ।
नौ किलोमिटरको भाडा एक हजार
राष्ट्रिय सडक सञ्जालमा जोडिएको दक्षिणी हुम्लामा नौ किलोमिटर सडकमा मोटरसाइकल चढेको एक हजार रुपियाँ भाडा लिने गरेको पाइएको छ। सर्केगार्ड गाउँपालिकाको केन्द्रदेखि चङ्खेली गाउँपालिकाको सलीसल्लासम्म यात्रुले मोटरसाइकल चढ्दा उक्त भाडादर तिर्नुपरेको छ। मोटरसाइकलवालाले आफूले तोकेको भाडा नदिए नजाने जवाफ दिने हुँदा यात्रुले बाध्य भएर चर्को भाडा तिर्नुपरेको हो।
ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु, दुई घाइते
जिल्लाको नलगाड नगरपालिका – ८ मालुवातडामा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रुकुम पश्चिमको राडी देखि तल्लुवगर तर्फ जाँदै गरेको भे.१ ख. ३७३६ नम्बरको मिनी ट्रकको एक्कासि ब्रेक फेल भई दुर्घटनामा परेको हो ।