राजन रावत
हुम्ला, चैत १४ गते । जिल्ला हुने गरेका अनियमितता र भ्रष्टाचारविरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्य भएको छ । वास नेपालका लागि जिल्लास्तरमा आबद्ध युवाको आयोजनामा मङ्गलबार धर्ना दिने कार्य भएको हो ।
वास नेपाल हुम्लाका अध्यक्ष तीर्थराज भण्डारीले जिल्लामा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, घुसखोरी जस्ता बेथितिकाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्य भएको बताउनुभयो ।
उहाँले असल शासन, सामाजिक जबाफदेहिता, सामाजिक सद्भाव, सामुदायिक सुरक्षा, युवा सशक्तीकरण, स्वयंसेवा, बाल अधिकार, बाल संरक्षण, लैङ्गिक हिंसा न्यूनीकरण, सामुदायिक सशक्तीकरण र संस्थागत विकासका क्षेत्रमा सुधारका लागि यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
धर्नापछि प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई बुझाइएको ज्ञापनपत्रमा कुनै पनि सरकारी निकायले सरल र सहज ढङ्गले जनतालाई सुविधा दिनुपर्ने, सरकारी कर्मचारी जनताप्रति जबाफदेही हुनुका साथै सेवाग्राहीलाई सम्मान गर्ने खालको हुनुपर्ने उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ पौडेलले कार्यालयमा हुने यस्ता कार्यप्रति आफूले निगरानी राख्ने बताउनुभयो ।