धनगढी समाचारदाता
धनगढी, वैशाख ३० गते । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न खरमजुरको गणना गरिएको छ । निकुञ्ज कार्यालयको समन्वयमा नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) र कञ्चनपुर पन्छी संरक्षण समूहले एक सातासम्म खरमजुर गणना गरेको हो । लोपको सँघारमा पुगेको यो प्रजातिका चराको सङ्ख्या, अवस्था पत्ता लगाउन हरेक वर्ष यसै बेला खरमजुर गणना गर्ने गरिन्छ ।
निकुञ्ज क्षेत्रमा खरमजुर गणना सम्पन्न भए पनि त्यसको रिपोर्ट आउन बाँकी रहेको सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताउनुभयो । “शुक्लाफाँटा निकुञ्ज कार्यालयको अनुमतिमा बिसिएनले खरमजुरको गणना गरिसकेको छ,” उहाँले भन्नुभयो, “यो वर्ष खरमजुरको अवस्था के कस्तो छ, त्यसको रिपोर्ट आउन अझै बाँकी छ ।”
पाटेबाघभन्दा पनि दुर्लभ भइसकेको खरमजुर तीव्र गतिमा हराइरहेका छन् । गत वर्ष वैशाखमा यो निकुञ्जमा पहिलो चोटि गणना गर्दा एउटा पनि खरमजुर भेटिएका थिएनन् । जेठमा दोस्रो पटक अवलोकन र ‘स्विप एन्ड सर्च’ विधिबाट गणना गर्दा मात्रै दुई पोथी र तीन भाले गरी पाँच वटा खरमजुर फेला परेका थिए । त्यसबेला शुक्लाफाँटाको घाँसे मैदानमा चार वटा र किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रमा एउटा पोथी खरमजुर देखिएका निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
यो वर्षको तथ्याङ्क अहिलेसम्म सार्वजनिक नभए पनि खरमजुरको अवस्था सन्तोषजनक नरहेको जनाइएको छ । खरमजुर घाँसमा बस्ने, लुक्ने गर्छ । सङ्ख्याको हिसाबले कम रहेकाले देख्नै मुस्किल हुने गर्छ तर प्रजनन सिजनमा भाले खरमजुर घाँसे मैदानमा २०/३० मिटरमाथि उफ्रेर नाच्ने गरेको बताइन्छ । योबेला खरमजुरको प्रजनन समय हो ।
नेपालमा शुक्लाफाँटासहित मुलुकका केही सीमित ठाउँमा मात्रै खरमजुर पाइने गरेको अभिलेख छ । सन् २०२१ मा शुक्लाफाँटामा सात वटा खरमजुर फेला परेका थिए । यसै गरी सन् २०२३ मा गणना गर्दा पाँच वटा खरमजुर अभिलेख भएका थिए ।