शङ्कर केसी
सल्यान, जेठ २१ गते । सल्यानमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित हुनुभएको छ । बुधवार जिल्लाको कपुरकोट गाउँपालिकामा दलित र गैर दलित समुदायबिच विवाह गरेर सामाजिक सद्भाव र समानताको उदाहरण प्रस्तुत गर्ने जोडीहरूलाई सम्मान गरिएको हो । १४ जोडीहरूलाई नगद एक एक हजार रुपैयाँ र खादाले सम्मान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख हिरा वलीले जानकारी दिनुभयो ।
दिवसकै अवसरमा खुला नाटक, निबन्ध लेखन प्रतियोगिता समेत सम्पन्न भएको छ । निबन्ध प्रतियोगितामा मञ्जु विक पहिलो, सावित्री विक दोस्रो र रेणु सेर्पाइली तेस्रो हुनुभएको थियो । उहाँहरूलाई क्रमशः तीन हजार पाँच सय , तीन हजार र दुई हजार पाँच सय रुपैयाँ नगद सहित पुरस्कृत गरिएको इकाई प्रमुख वलीले जनाउनुभयो । यस्तै नाटक प्रतियोगितामा पहिलो हुने ब्लुडाईमण्ड बोर्डिङ स्कुल, दोस्रो हुने चेतनशील आमा समूह र तेस्रो हुने जनचेतना स्वास्थ्य आमा समूहलाई पनि क्रमशः तीन हजार पाँच सय , तीन हजार र दुई हजार पाँच सय रुपैयाँ नगद सहित पुरस्कृत गरिएको उहाँको भनाई छ ।
कपुरकोट गाउँपालिकाको आयोजना तथा आइएम स्विस डेभलपमेन्ट र दलित विकास समाज सल्यानको सहकार्यमा दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका वक्ताहरूले समाजमा विद्यमान जातीय छुवाछुतजस्ता विभेदकारी अभ्यास अन्त्य गर्न सबैको प्रयास आवश्यक रहेकोमा जोड दिनुभएको थियो । गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी लगायतले बोल्दै छुवाछुत अन्त्यका लागि अन्तरजातीय विवाहले सकारात्मक भूमिका खेल्ने भन्दै अन्तरजातीय विवाह गर्ने युवाहरूले नयाँ सामाजिक चेतना फैलाएको बताउनुभएको थियो ।
सम्मानित भएका जोडीहरूले यस प्रकारको सम्मान पाउँदा आत्मबल बढेको र समाजको दृष्टिकोण परिवर्तन हुँदै गएको महसुस भएको बताउनुभएको थियो । कार्यक्रममा महिला, दलित, जनजाति तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।