सुजन काफ्ले
चरीकोट, जेठ २२ गते । दोलखा सदरमुकाम चरिकोटमा रहेको गौरीशङ्कर बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्रक्रिया पूरा गरेर शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसको आधारमा क्याम्पसले ‘क्युएए’ प्राप्त गरेको हो ।
ठमाडौँमा आयोजित एक कार्यक्रमका बिचमा विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्राप्तिको प्रमाणपत्र प्रदान गरेको छ । दस वर्षदेखिको अथक मिहिनेतको प्रतिफलमा क्युएए प्रमाणपत्र प्राप्त गरेको र आगामी दिनको शैक्षिक गुणस्तरीयतामा केन्द्रित हुने क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतले बताउनुभयो ।
लामो समयको मिहिनेत र स्थानीयदेखि सबैको साथ र सहयोगका कारण क्याम्पसले क्युएएको प्रमाणपत्र गरेसँगै आगामी दिनमा थप विषयका कक्षाहरू सञ्चालनसँगै भौतिक र शैक्षिक गुणस्तरको योजना रहेको अध्यक्ष राउतले बताउनुभयो ।
क्युएए प्राप्तिमा सबैको साथ र सहयोगमा सफलता प्राप्त भएको भन्दै आगामी दिनमा पनि यस्तै सहकार्यमा अघि जाने उहाँको भनाइको छ ।
केही वर्ष अघि नै क्याम्पसले क्युएए प्राप्त गर्नुपर्नेमा कोभिड सङ्क्रमण तथा विभिन्न प्राविधिक कारणले ढिला भएतापनि क्युएए प्राप्त गर्न सफल भएको क्याम्पस प्रमुख शान्तबहादुर केसीले बताउनुभयो ।
प्रमुख केसीले भन्नुभयो, ‘‘क्युएए प्राप्त गर्न नसक्दा दुखित थियौं । लामो प्रयासपछि सफल भयौं । अब खुसी हुने बेला आएको छ ।’’ सरोकारवालाको छलफल समन्वयमा क्याम्पसले थप नयाँ विषयहरू अध्यापन गर्ने प्रक्रिया अघि बढाउने सोचमा रहेको उहाँले बताउनुभयो । प्राप्त उपलब्धि जोगाइ राख्न अब क्याम्पस थप सशक्त ढङ्गबाट अघि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
क्याम्पसमा नयाँ विषय सुरु गर्ने बाटो खुलेको छ । क्याम्पसले अरु क्याम्पसहरूमा पढाइ हुने विषयभन्दा नयाँ खालका प्राविधिक विषय थप गर्ने योजना रहेको उहाँको क्याम्पसले जनाएको छ ।
२०३८ सालमा स्थापना गरिएको गौरीशङ्कर बहुमुखी क्याम्पसमा हाल स्नाततक र स्नाकोत्तर तहमा आठ सयभन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन् ।
व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र सङ्कायमा अध्यापन गर्ने कार्य भइरहेको छ । स्नातक तहमा विविएस, बिए र बिएड र स्नातकोत्तर तहको शिक्षा शास्त्रमा शैक्षिक योजना व्यवस्थापन, नेपाली र अङ्ग्रेजी र व्यवस्थापन सङ्कायतर्फ एमबिएसको पढाइ भइरहेको छ । अध्ययनरत विद्यार्थीमध्येमा अधिकांश ग्रामीण भेगका छन् । क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदान लगायतका अन्य सुविधा प्राप्त हुने गर्छ ।