• २३ जेठ २०८२, शुक्रबार

चमार समुदायकाे पहिलो डाक्टर स्मृति हरिजन

blog

डाक्टर स्मृति हरिजन । तस्बिर: सामाजिक सञ्जालबाट

कपिलवस्तु जेठ २१ गते । एउटा दलित परिवारको सङ्घर्ष । जसले सपना देख्न कहिल्यै छाडेनन् । इँटा भट्टाको तातो धुवाँ र धुलोबिच पसिना बगाउँदै, जातीय अपमान र चरम गरिबीका बाबजुद पनि पढाइलाई कहिल्यै छाडेनन् ।

कपिलवस्तुको बहादुरगन्ज निवासी सन्तराम हरिजन जीवनको हरेक मोडमा सङ्घर्षसँग लड्दै, आफ्ना सन्तानहरूको उज्ज्वल भविष्यको सपना देखिरहे । कृष्णनगर नगरपालिका–८, बहादुरगन्जकी स्मृति हरिजन मधेशी दलित समुदाय (विशेष गरी चमार, डोम, मुसहर, बादी) बाट उहाँ हालसम्मकै पहिलो महिला चिकित्सक बन्न सफल भएकी छिन् । 

स्मृतिको यो उपलब्धि केवल उनको व्यक्तिगत सफलता मात्र होइन । समाजमा गढिएको विभेदलाई शिक्षाको माध्यमबाट फाल्न सकिन्छ भन्ने उदाहरण पनि हो । नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गर्दै जानकी मेडिकल कलेज, जनकपुरबाट एमबिबिएस उत्तीर्ण गर्नु भएकी स्मृति अहिले जनकपुरमै इन्टर्नसिप गर्दै छिन् । नेपाल मेडिकल काउन्सिलको परीक्षा (एनएमसी) उत्तीर्ण गरेपछि उहाँलाई सामाजिक सञ्जालबाट बधाई दिनेहरूको ओइरो लागेको छ । इन्टर्नसिप सकिए पछि उहाँले सरकारको योजनाअनुसार दुई वर्ष सेवा दिनुपर्ने छ । 

स्थानीय राम गोरखा माविबाट माध्यमिक तह अध्ययन गरेकी स्मृति सानो देखी पढाइमा अब्बल हुनु हुन्थ्यो । उहाँ भन्नु हुन्छ “हाम्रो समुदायका महिलालाई आठ कक्षा पार गराउनसमेत गाह्रो हुन्छ । माथिल्लो कक्षामा पढ्न लागेपछि रोक्ने प्रयास हुन्छ, तल्लो जातको पढ्न हुँदैन भन्ने सोच अझै पनि छ ।” स्मृति थप्नु हुन्छ , “म पहिलो हुँ, तर अन्तिम होइन । म त्यो दराज हुँ जसले विभाजनको पर्खाल भत्काउँछ, म त्यो तारा हुँ जसपछाडि हजारौँ चम्कने छन् । “शिक्षा नै मुक्ति हो । म चाहन्छु, मेरा जस्ता अरू पनि डाक्टर, इन्जिनियर बनुन् ।” 

सन्तरामको सङ्घर्ष र दलित हुनुको सास्ती 

स्मृतिका बाबु सन्तराम हरिजनको जीवन आफैँमा एक प्रेरक कथा हो । २०३९ सालमा एसएलसी पास गरेका उनी नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक बनेका थिए । तर, एक प्रभावशाली व्यक्तिलाई पक्राउ गरेपछि ‘तीन हजार घुस खाएको’ झूटो आरोपमा जागिर गुमाउनुपर्‍यो । “म निर्दोष थिएँ, तर शक्तिशालीसँग लड्न सकिँदैनथ्यो,” सन्तराम सम्झन्छन् । त्यसपछि उनले शिक्षण पेसा अँगाले । मजदुरी, ऋण र गरगहना बेचेर भए पनि उनले आफ्ना सन्तानलाई पढाइमा सम्झौता गर्न दिएनन् । 

बुवा सन्तराम हरिजनको साथमा डाक्टर स्मृति हरिजन । 

सपना पूरा हुँदै 

कान्छी छोरी डाक्टर स्मृति, नेपालकै दलित महिला चिकित्सकमध्ये पहिलो बनेकी छन् । माइली छोरी सृजना, हाल बेलायतमा एमबिए (फाइनान्स) अध्ययन गर्दै छिन् । गाउँबाट युरोपको प्रतिष्ठित शिक्षण संस्थासम्मको उनको यात्रा आफैँमा असाधारण छ । छोरा सन्दीप, भारतको प्रतिष्ठित प्राविधिक संस्था एनआइटी राउरकेलामा कम्प्युटर साइन्स र इन्जिनियरिङ अध्ययनरत छन्, त्यो पनि भारत सरकारको छात्रवृत्तिमा ।

स्मृति हरिजनको सफलता केवल व्यक्तिगत विजय होइन । यो दलित समुदाय, विशेषतः महिलाहरूका लागि सम्भावनाको नयाँ ढोका हो । जात, लिङ्ग वा आर्थिक हैसियतले होइन सपना, सङ्घर्ष र आत्मबलले मान्छेको उचाइ मापन गर्नुपर्छ भन्ने सन्देश दिएको दलित अगुवा सिवी गहतराजले बताउनुभयो । 

Author

जानु पाण्डे