• ६ जेठ २०८१, आइतबार

ट्रान्सफर्मर लैजान नसक्दा आयोजना अलपत्र

blog

ललित बसेल

सुर्खेत (चौकुने), चैत १६ गते । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको एक दुर्गम बस्तीमा विद्युत्को पोल गाडेर तार टाँगिएको छ तर एक वर्षदेखि गाउँ अन्धकार छ। गाउँमा सडक नपुग्दा ट्रान्समिटर लैजान नसकिएपछि विद्युत् पूर्वाधार तयार भए पनि विद्युतीकरण हुन सकेको छैन। 

८० घरधुरी रहेको सो गाउँमा घरघरमा वायरिङ पनि भइसकेको छ तर विद्युत् उत्पादन हुने खोलामा ट्रान्सफर्मर पु-याउने सडक नहुँदा विद्युत् उत्पादन हुन सकेको छैन। ट्रान्सफर्मर गाउँमै थन्क्याइएको छ। गाउँमा खानेपानीको समस्या टार्नका लागि सङ्घ सरकारले करिब एक करोड २६ लाख रुपियाँको लागतमा वेतनखोली–रेक्चा–पुच्छ«म लिफ्ट खानेपानी आयोजना निर्माणको प्रक्रिया अघि बढाएको छ। उक्त आयोजना वेतनखोलीको पानी लिफ्ट प्रविधिबाट ल्याउनुपर्ने हुन्छ तर विद्युत् नहुँदा सो आयोजना पनि अलपत्र रहेको स्थानीय बासिन्दा तपेन्द्र बीसीले बताउनुभयो। वडा सदस्य बीसीले गाउँमा विद्युत्को पोल र तार टाँगिए पनि ट्रान्सफर्मर पु-याउन नसक्दा गाउँमा विद्युतीकरण गर्न नसकिएको बताउनुभयो।

गाउँदेखि मुहानस्थल बेतनखोलीसम्म पुग्न करिब आठ किमि छ। उहाँले सडक बनाउन ठेकेदार, सरकारी निकायलाई आग्रह गरिए पनि कुनै सुनुवाइ हुन नसकेको बताउनुभयो। उक्त ट्रान्सफर्मर मानिसले ढुवानी गर्न पनि नसकिने अवस्था छ। उहाँले बोकेर लैजान पनि नसकिने बताउनुभयो। 

स्थानीय जितन बीसीले विद्युत् पूर्वाधार तयार भए पनि विद्युत्को पोल र तार हेरेर चित्त बुझाउनु परेको बताउनुभयो। अहिले विद्युत्को विकल्पका रूपमा सोलार प्रयोग गरिएको छ। खानेपानी आयोजना बनाउने ठेकेदारलाई सडक बनाउन आग्रह गर्दा आफ्नो लागतमा नपर्ने भन्दै पन्छिएको र बनाउनुपर्ने भए ४० लाख थप गर्न माग राखेको बीसीले बताउनुभयो।

रकमको जोहो गरी सडक बनाइदिन गाउँपालिका, प्रदेश सरकार र जिल्ला समन्वय समितिसमक्ष आग्रह गरिएको उहाँको भनाइ छ। ट्रान्सफर्मर लगेर जोड्न नसक्दा लिफ्ट खानेपानी आयोजना पनि अलपत्र छ। आयोजनाका लागि विद्युत् आवश्यक पर्ने तर ट्रान्सफर्मर नै लिन नसकेपछि आयोजना त्यत्तिकै छ। यता चौकुने गाउँपालिकाले सडक विस्तारका लागि रकमको जोहो गर्न लागेको जनाएको छ। गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोलाले ठेकेदारले ४० लाख रकम उपलब्ध गराएर मुहानसम्म सडक बनाइदिने भनेको तर त्यति धेरै रकम जुटाउन पालिका एक्लैले नसक्ने बताउनुभयो।