• ३० वैशाख २०८२, मङ्गलबार

नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने

blog

काठमाडौँ, वैशाख ३०  गते ।  उच्च आर्थिक वृद्धिदर र नागरिकका विकास आकाङ्क्षा सम्बोधन हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँहरूले मौलिक हकको कार्यान्वयन, पूर्वाधार विकास, उत्पादकत्व वृद्धि तथा रोजगारी सृजनालाई केन्द्रमा राखेर बजेट ल्याइनुपर्ने बताएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थल निर्माणका लागि तीन अर्ब ४२ करोड  लागत अनुमान गरिएकाले त्यति रकम विनियोजन गर्न सरकारसँग आग्रह गर्नुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद जुलीकुमारी महतो (महासेठ)ले आगामी आर्थिक वर्षको बजेटमा जनताका विकासका चाहना सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले रासायनिक मल कारखाना स्थापना, रुग्ण र बन्द कारखाना पुनःसञ्चालन र नयाँ कारखाना स्थापनाका लागि आवश्यक बजेट व्यवस्था गर्नुपर्छ भन्नुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायको उत्थानका निम्ति ठोस कार्यक्रम नल्याइएकामा रोष प्रकट गर्नुभयो । नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले देशको अर्थव्यवस्थाप्रति राज्य गम्भीर नभएको अनुभूत हुन्छ भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संविधानले प्रत्याभूत गरेका नागरिकका अधिकार सुनिश्चित हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने बताउनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अनिसा नेपालीले राज्यको स्रोत साधनमाथि सबै नागरिकको समान पहुँचको प्रत्याभूतिको माग गर्नुभयो । रासस