काठमाडौँ, वैशाख ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले मङ्गलबार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवम् सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा (आइएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताउनुभयो ।
भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका (आइएससी) का सल्लाहकार मासाइची होरी लगायत अन्य सहभागी हुनुहुन्थ्यो ।
यस्तै, नेपाली प्रतिनिधिका रुपमा (आइएससी) का नवनियुक्त महासचिव एवम् नेपालका सांसद एकनाथ ढकाल, नेकपा (एमाले) का सचेतक सुनिता बराल र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल सहभागी हुनुहुन्थ्यो ।