• ३० वैशाख २०८२, मङ्गलबार

महायज्ञ स्थलको मुख्य मण्डपमा आगलागी

blog

महायज्ञको मुख्य मण्डपमा लागेको आगो । तस्बिरः विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी), बैशाख २९ गते । सप्तरीको रुपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको श्री सीताराम नाम १००८ मण्डलीय सकिर्तन एवं श्री रामचरित्र मानसको नौ दिवसीय महायज्ञको मुख्य मण्डपमा सोमबार आगलागी भएको छ । महायज्ञका लागि बनाइएको यज्ञको अन्तिम दिन साँझ आगलागी हुँदा मुख्य मण्डप जलेर खरानी भएको छ ।

आगलागीबाट मण्डपसहित त्यहाँ राखिएका लत्ताकपडा, हवनका सामग्री समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। हवन भइरहेको बेला आगलागी भएको त्यहाँका प्रत्यक्षदर्शीको भनाइ छ ।

हवन हुने मुख्य मण्डपमाथिबाट यज्ञस्थलमा वत्ती बाल्न विजुलीको तार लगिएको र त्यहीं विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो। आगोलाई राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्र तथा उपस्थित सर्वसाधारणको मद्दतमा निभाइएको उहाँले बताउनुभयो ।

औद्योगिक क्षेत्रको जमिनमा रहेको दोषबाट मुक्ति दिलाउन २१ बैशाखदेखि त्यहाँ महायज्ञको आयोजना गरिएको थियो । शुद्धीकरण स्वरुप समेत यो महायज्ञ आयोजना गरिएको थियो । महायज्ञमा एक हजार आठ मण्डपमा कीर्तन मण्डली, हनुमान आराधना मण्डली, वृन्दावनको रासलीला, रामलीला, रामचरित्र मानस पाठ, उच्चकोटी विद्वानद्वारा प्रवचन तथा विशाल भण्डारा समेतको व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । 

२०५६ सालमा धनुषामा पहिलो पटक यस्तो महायज्ञ भएको र त्यसपछि दोस्रो पटक सप्तरीमा आयोजना भएको यज्ञका अगुवा पगला बाबाले बताउनुभयो ।