• ३० वैशाख २०८२, मङ्गलबार

विपद् पूर्व तयारीमा जुटे समुदाय

blog

विपद्को बेला प्रयोगका लागि निर्मित बहुउद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थल भवन । तस्बिर : भोजराज ढुङ्गाना

अविनाश चौधरी

धनगढी, वैशाख ३० गते । कैलालीमा स्थानीयस्तरमा विपद् पूर्व तयारी थालिएको छ । बाढी, डुबान जस्ता प्राकृतिक प्रकोपबाट जीउधनको सुरक्षाका लागि पूर्व तयारी थालिएको हो । यो जिल्लाले प्रत्येक वर्ष बाढी, डुबानको समस्या झेल्दै आएको छ । बर्सेनि आउने प्राकृतिक विपदबाट जोगिनका लागि डुबान प्रभावित क्षेत्रका स्थानीय पूर्व तयारीमा जुटेका छन् । 

मोहना, पथरैया, कान्द्रा नदीको दोभानको काखैमा रहेको अतिसङ्कटासन्न टीकापुर नगरपालिका–७ मा बर्खा लाग्नु अगावै पूर्व तयारी थालिएको छ । सो वडाको बैदीमा एक करोड २१ लाख रुपियाँ लागतमा बहुउद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थल भवन निर्माण गरिएको छ । समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजनामार्फत आश्रयस्थल निर्माण भएको हो । यो परियोजना परराष्ट्र मन्त्रालय जापान तथा वल्र्ड भिजन जापानको आर्थिक सहयोगमा वल्र्ड भिजन इन्टरनेसनल र सामाजिक विकासका लागि सचेत समाजको साझेदारीमा सञ्चालित छ । 

स्थानीय विष्णुराम जैशीले डेढ कट्ठा जग्गा दानमा दिएपछि आधुनिक बहुद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थल भवन निर्माण भएको सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च धारासहितको सो आश्रयस्थलमा ५०-६० घरपरिवार बस्न सक्ने छन् । 

“विशेष गरेर बाढी विपद् वा अन्य कुनै महामारी, प्रकोपको बेला यो आश्रयस्थल भवन समुदायले प्रयोग गर्न सक्ने छन्”, ढुङ्गानाले भन्नुभयो । हालै निर्माण सम्पन्न भएको सो आश्रयस्थल भवन टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । यसैगरी, स्थानीय दाताले दान गरेको जग्गा पनि वडा कार्यालयको नाममा नामसारी गरिएको छ । 

बैदीमै रहेको अर्को सुरक्षित भवनमा विपद् पूर्व सूचना दिने स्वचालित साइरन जडान गरिएको छ । प्राक्टिकल एक्सन र बिइइ ग्रुपको सहयोगमा करिब सात लाखको स्वचालित साइरन जडान गरिएको हो । बाढी विपद्, चट्याङ, हावाहुरी, आगलागी लगायतकोे प्रकोपको बेला साइरनले पूर्व सूचना दिने ढुङ्गानाले बताउनुभयो । साइरनको आवाज दुई किलोमिटर टाढासम्म सुनिने जनाइएको छ । 

मोहना, पथरैया नदीको बाढीले बर्सेनि दुःख दिँदै आएको बैदीमामात्रै तीन वटा सुरक्षित आश्रयस्थल भवन बनिसकेको छ । यसअघि, प्रदेश सरकारले एउटा सुरक्षित आवास भवन निर्माण गरेको थियो । त्यहाँ अझै पनि सुरक्षित आवास भवन अपुग रहेको अध्यक्ष ढुङ्गानाको भनाइ छ । यसैगरी, विपदबाट अन्नबाली सुरक्षित गर्न सकिने खाद्य सुरक्षा भण्डारको अति जरुरी रहेको जनाइएको छ ।