• ३० वैशाख २०८२, मङ्गलबार

फोहोरमा जीवन खोज्दै बालबालिका

blog

जनकपुरको देवान पोखरी डिलको फोहोरमा कबाड सामग्री खोज्दै बालबालिका । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह 

जनकपुर, वैशाख ३० गते । पिठिउँमा प्लास्टिकको बोरा भिरेका चार बालबालिका पोखरीको डिलमा रमाइरहेका छन् । सधैँ बिहानदेखि बेलुकासम्म नगरको पोखरीको डिल, गल्ली, बाटोमा भेटिने यी बालबालिकाले भिरेको बोरामा किताब कापी होइन, कबाडीका सामान भरिएको हुन्छ । स्कुल जाने उमेरका बालबालिका फोहोरको थुप्रोमा चिप्लिँदै र कुहिएको फोहोरको गन्ध सहँदै प्लास्टिकका बोरा बोकेर नगरका विभिन्न गल्ली, बाटोमा डुलिरहन्छन् ।

मधेश प्रदेशको जनकपुर, लहान, सिराहा, राजविराज जस्ता सहरका गल्लीमा भेटिने यस्ता बालबालिकाको जीवनशैली सामान्य जस्तै भइसकेको छ । विद्यालयको साटो उनीहरू कबाड थुपार्न दौडिरहेका हुन्छन् । कहिले डस्टबिनमा, कहिले बजारको छेउछाउ त कहिले फोहोर फाल्ने ठाउँमा उनीहरू झुमिरहेका हुन्छन् ।

जनकपुरका १२ वर्षीय विशाल सहनी (परिवर्तित नाम) बिहानदेखि थोत्रा लुगा लगाएर हातमा प्लास्टिकको ठुलो बोरा बोकेर बजारका गल्ली, बाटो चहार्छन् । उनी दिनभरि नगरका विभिन्न स्थानमा फालिएको घरजन्य, भान्साजन्य, औषधीजन्य फोहोरको डङ्गुरमा फलाम, प्लास्टिक, कागज, बोतल सङ्कलन गर्न दौडिरहेका हुन्छन् । समूहमा रहेकाले कसले पहिला कति चाँडै टिप्ने उनीहरूबिच प्रतिस्पर्धा पनि चलिरहन्छ । 

उनी भन्छन्, “कबाड सामग्री जति धेरै सङ्कलन गरियो, हाम्रो चुलो पनि त्यति नै बल्छ । पहिला पेट भर्नु पर्छ, अनि मात्र स्कुल जान सकिन्छ ।”   उनले अहिलेसम्म स्कुल देखेका छैनन् । उनी भन्छन्, “बाबुआमा भन्नुहुन्छ काम गर् अनि मात्र खान पाइन्छ ।”

उनका बाबु रोजगारीका लागि भारतको दिल्लीमा हुनुहुन्छ । आमा टोल घरछिमेकको घरमा कुचो लगाउने काम गर्नुहुन्छ । विशाल दैनिक ५०–१०० रुपियाँसम्मको कबाड सङ्कलन गर्छन् । सङ्कलन गरिएको कबाड स्थानीय कबाडी व्यापारीलाई बेच्छन् । त्यो रकमले दाल, चामल किन्ने गरेको उनको भनाइ छ । विशालसँगै बुधन, राम, हरि र सरिता (नाम परिवर्तन) ले पनि समूहमै बसेर फोहोर सङ्कलन गरी जीविकोपार्जनको आधार बनाएका छन् । उनीहरूको स्थायी घर पनि छैन, जग्गा पनि छैन, आज के खाने निश्चित पनि छैन । हुरीबतास आएको रात थोरथोरै खाएर रातभरि जाग्राम बसेको धेरै दिन छन् । 

श्रम ऐन अनुसार १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि किसिमको श्रममा लगाउन निषेध गरिएको छ तर मधेश प्रदेशका सहर र बजार क्षेत्रमा सयौँ बालबालिका बिहानदेखि बेलुकीसम्म कबाडी सङ्कलनमै व्यस्त देखिन्छन् । कतिपय त प्लास्टिक बालेर फलाम छुट्याउने जोखिमपूर्ण काममा समेत संलग्न छन् ।

स्थानीय मानव अधिकारकर्मी अजय साह भन्नुहुन्छ, “यी बालबालिकाको जीवन फोहोरमा गुम्दै छ । उनीहरू स्कुल जानुपर्ने उमेरमा स्वास्थ्य र भविष्य दुवै गुमाउँदै छन् । यो हाम्रो समाजको विडम्बना हो ।”

छालारोग विशेज्ञ डा. जयकिशोर गोइतले फोहोरमैला सङ्कलनमा लागेका बालबालिकामा अनेकौँ स्वास्थ्य जोखिम रहने बताउनुभयो । उहाँले भन्नुभयो, “दूषित वस्तु समात्दा छालाको रोग, सुई वा धारिलो वस्तुले लाग्दा चोट, सङ्व्रmमित रोग लाग्ने सम्भावना अत्यधिक रहन्छ । यसबाहेक बाल मानसिकता विकासमा पनि गम्भीर असर पार्ने गर्छ । दैनिक श्रम र दुःख मात्रै हुँदा उनीहरूको बालसुलभ चेत मर्छ ।  भविष्यप्रतिको आशा मर्छ ।” 

कार्यान्वयन भएन ऐन

मधेश प्रदेश सरकारले बालबालिकाको अधिकारको संवर्धन, संरक्षण, प्रवर्धन एवं परिपूर्ति गर्दै सबै बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक एवं भावनात्मक विकास गरी सर्वोत्तम हित सुनिश्चित गर्न प्रदेश बाल अधिकारसम्बन्धी ऐन, २०७७ बनाएको छ । 

यस्तै प्रदेशका बालिकाको हकहित संरक्षण गरी बालिकाविरुद्धको जातीय, लैङ्गिक विभेद अन्त्य गर्दै शारीरिक, मानसिक र बौद्धिक विकासका लागि बालिकाको जन्म, पालनपोषण, शिक्षा तथा स्वास्थ्यको प्रत्याभूति गरी वयस्क भएपछि रोजगारीका तयारी समेत गर्न बालिकाको संरक्षण तथा सशक्तीकरण गर्न बालिका संरक्षण तथा सशक्तीकरण ऐन, २०८१ बनाएको छ । मधेशको प्रदेश बाल अधिकारसम्बन्धी ऐन, २०७७ को दफा १० मा खेलकुद, मनोरञ्जन तथा सांस्कृतिक अधिकार, दफा १२ मा विचार अभिव्यक्ति, सूचना माग्ने तथा सहभागिताको अधिकार र दफा १३ मा बालक्लब वा संस्था गठन गर्न सक्नेलगायतका व्यवस्था कार्यान्वयनमा ल्याई अर्थपूर्ण बालसहभागितालाई कार्यान्वयन गर्न प्रदेश बालसहभागितासम्बन्धी कार्यविधि, २०७८ पनि बनाइएको छ । 

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका महिला तथा बालबालिका शाखाका अधिकृत सरोज मिश्रले मन्त्रालयले बालक्लबका बालबालिकालाई विभिन्न विषयमा जागरुक गराउन चेतनामूलक कार्यक्रम राखे पनि अहिलेसम्म ती कार्यक्रम सञ्चालनमा नआएको बताउनुभयो । 

मधेश प्रदेशभरि सबै जिल्लाका  बालबालिकाको यकिन अभिलेख नरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “नीति, ऐन कानुन, कार्यविधि र घोषणापत्र कागजमै सीमित छन् ।”