चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ ३१ गते। ताप्लेजुङको सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिका–११ फावाखोलाका स्थानीयले सामाजिक सुरक्षा भत्ता वडाबाटै पाउनुपर्ने माग गरेका छन्। नगरपालिकाकै दुर्गम वडाको रुपमा रहेको फावाखोलाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता बापतको रकम वडाबाटै पाउनुपर्ने माग गरेका हुन्।
फुङ्लिङ नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको सहजीकरणमा शनिबार जनतासँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ। फावाखोलास्थित वडा कार्यालयमा आयोजित जनतासँग जनप्रतिनिधि कार्यक्रममा सहभागी लाभग्राहीले वडाबाटै सामाजिक सुरक्षा भत्ता बापतको रकम पाउनुपर्ने माग गरेका हुन्।
सदरमुकाम फुङ्लिङ बजारसम्म पुग्नलाई असहज भएकोभन्दै आफूहरुले पाउने सामाजिक सुरक्षा भत्ता रकम वडाबाटै पाउने व्यवस्था मिलाई दिन लाभग्राहीले माग गरेका हुन्। सदरमुकाममा रहेको बैङ्कसम्म भत्ता रकम लिन जानलाई ज्येष्ठ तथा अपाङ्ग नागरिकलाई थप कठिन भएको लाभग्राहीको भनाइ छ। आफू अपाङ्गसमेत भएकाले भत्ता रकम प्राप्त गर्न सदरमुकामसम्म जानलाई निकै सास्ती खेप्दै आउनुपरेको लाभग्राही ७२ वर्षीया रमलादेवी बिष्टले बताउनुभयो।
बिष्टले सुरुसुरुमा घरमै बसेर भत्ता रकम बुझ्दा धेरै सहज भएको र अहिले सोही भत्ता लिन सदरमुकामसम्म धाउनुपर्दा हैरानी भएकोभन्दै बिष्टले भत्ता रकम वडाबाटै पाउने व्यवस्था मिलाई दिन माग गर्नुभएको छ। अर्का ७० वर्षीय चन्द्रबहादुर सेम्बुले पनि सामाजिक सुरक्षा भत्ता वडाबाटै पाउनुपर्ने माग गर्नुभयो। ज्येष्ट नागरिकलाई भत्ता रकम बुझ्नका लागि सदरमुकाम धाउन समस्या भएको र सदरमुकामसम्म ओहोरदोहोर गर्दा यातायात र अन्य खर्च गरी करिव तीन हजार रुपियाँ सकिने सेम्बुले बताउनुभयो।
बिष्ट र लिम्बूजस्तै फावाखोलाका अन्य लाभग्राहीले पनि सामाजिक सुरक्षा भत्ता बापतको रकम वडाबाटै पाउनेगरी व्यवस्था मिलाई दिन माग गर्नुभएको छ। वडाबाटै भत्ता रकम पाउने प्रवन्ध भएमा सदरमुकाम फुङ्लिङ बजारसम्म ओहोरदोहोर गर्नमा सास्ती खेप्नु नपर्ने र रकम बुझ्नलाई आउजाउ गर्दा लाग्ने खर्च पनि बचाउ हुने लाभग्राहीले बताएका छन्।
लाभग्राहीको माग सुनेपछि नगर प्रमुख अमिर मादेन र उपप्रमुख भीमादेवी ओझाले आगामी आर्थिक वर्षदेखि बैङ्कसँग समन्वय गरेर वडाबाटै सामाजिक सुरक्षा भत्ता रकम पाउने व्यवस्था मिलाउने आस्वासन दिनुभयो। नगर प्रमुख मादेनले फावाखोला र वडा नम्बर १० फुरुम्बुका लाभग्राहीले आगामी आवदेखि वडाबाटै भत्ता रकम प्राप्त गर्ने प्रवन्धका लागि पहल गरिने बताउनुभयो। उक्त दुईवटा वडामा हालसम्म सामाजिक सुरक्षा भत्ता पाउने करिव १४० जना लाभग्राही रहनुभएको छ।
यस्तै जनतासँग जनप्रतिनिधि कार्यक्रममा वडावासीले सडक, विद्यालयका घेराबार, बालमैत्री कक्षाको संरचना लगायतका पूर्वाधारका लागि बजेट बिनियोजन गरिदिन माग गरेका छन्। उम्मेदवार भएको बेला गरेको प्रतिबद्धता अनुसार कुनै काम नगरेकोभन्दै वडावासीले असन्तुष्टि पनि जनाएका छन्। कतिपय पूर्वाधारका काममा निर्माण कम्पनीले जस्तो गरे पनि हुने र स्थानीय उपभोक्ता समितिमार्फत गर्दा गुणस्तरको विषयमा हैरानी दिने गरिएकाले योजना अनुमगन प्रभावकारी हुनुपर्ने पनि वडावासीले बताएका छन्।
कार्यक्रममा वडावासीले उठाएका प्रश्न, सवाल तथा मागका विषयमा नगर प्रमुख मादेन, उपप्रमुख ओझा, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, वडाध्यक्ष युवराज भट्टराई (योगेश) लगायतले जवाफ दिनुभएको थियो। यता जवाफदेही पक्ष र वडावासी जनताबिच सवाल जवाफको सहजीकरण भने पत्रकार महासङ्घका पूर्व जिल्ला अध्यक्ष आनन्द गौतमले गर्नुभएको थियो।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको सहजीकरण तथा फुङ्लिङ नगरपालिकाको आयोजनामा जनतासँग जनप्रतिनिधि कार्यक्रम गएको बिहीबारदेखि सुरु गरिएको हो। जनतासँग जनप्रतिनिधि कार्यक्रम अझै केही वडामा बाँकी रहेको पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सुवास आचार्यले जानकारी दिनुभयो। आचार्यका अनुसार पत्रकार महासङ्घको सहजीकरणमा जिल्लाका अन्य स्थानीय तहमा सार्वजनिक सुनुवाई तथा जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिँदै आएको छ।