• ३१ जेठ २०८२, शनिबार

उत्पादन र व्यवसायमुखी ढङ्गले पार्टी प्रशिक्षण हुनुपर्छ : शान्ता मानवी

blog

शुक्रबार आयोजित ‘नेपालको लोकतान्त्रिक एवम् कम्युनिस्ट आन्दोलनको प्रेरणादायी अग्रणी व्यक्तित्व शान्ता मानवीको अनुभव प्रस्तुति र अन्तरक्रिया’ कार्यक्रम ।

काठमाडौँ, जेठ ३० गते । नेपालको लोकतान्त्रिक एवम् कम्युनिस्ट आन्दोलनका नेतृ शान्ता मानवीले उत्पादन र व्यवसायमुखी ढङ्गले पार्टी प्रशिक्षण हुनुपर्ने बताउनुभएको छ । 

मोतीदेवी स्मृति केन्द्र र तुलसीलाल स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरिएको ‘नेपालको लोकतान्त्रिक एवम् कम्युनिस्ट आन्दोलनको प्रेरणादायी अग्रणी व्यक्तित्व शान्ता मानवीको अनुभव प्रस्तुति र अन्तरक्रिया’ कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

 उहाँले आफ्नो जीवन सङ्घर्ष, भूमिगत राजनीति एवम् सांगठनिक विषयमा आफ्नो अनुभवसहित विचार प्रस्तुत गर्नुहुँदै विगत र वर्तमान अवस्थामा फरक-फरक चुनौती रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिले माथिदेखि तलसम्म वैचारिक गहनता भएन कि । हिजो भूमिगत अवस्थामा त्यही ढङ्गले काम नगरेदेखि आज यस्तो उज्यालो छ । अहिलेका चुनौती बेग्लै छन् । व्यवसायीमुखी र उत्पादनमुखी ढङ्गले पार्टी प्रशिक्षण हुनुपर्छ ।”

“आठ वर्षको उमेरमा विवाह भयो । ११ वर्षमा आमा खस्नुभयो । १३ वर्षमा मलाई विवाह गर्नुभएको श्रीमान् खसे । एक वर्ष श्रीमानको घरमा वरखी बारेर बस्नुपर्‍यो। बुहारी महिलाको विभेद भोगें”, उहाँले भन्नुभयो, “मेरो छोरो त खाइँ, खाइँ । अलक्षिण पस्यो’ भन्ने पहिलो बोली सासुको मुखबाट सुनें ।”

समाजको अपहेलना र विभेद्बाट तिरस्कृत हुँदै गएपछि उहाँले त्यो समाज नै त्याग्ने निर्णय गर्नुभयो र काम गर्दै पढ्नका लागि इण्डियाको विभिन्न ठाउँमा भाँडा माँझ्दै सङ्घर्ष गर्नुभयो।

भारतको बनारसमा मोदनाथ प्रश्रितको माध्यमबाट पुष्पलालसँग भेट भयो । जसकारण, उहाँ राजनीतिमा आकर्षित हुनुभयो । 

उहाँले भन्नुभयो, “पुष्पलाललाई नभेटेको भए म राजनीतिमा लाग्ने थिइनँ । पुष्पलालको व्यवहार, सरलता, रहनसहन हेर्दा दुनियाँमा यस्तो मान्छे पनि हुँदो रहेछ जस्तो लाग्यो ।”

उहाँ २०३२ सालमा भूमिगत राजनीति गर्ने सोचले नेपाल फर्कनुभयो । भूमिगत रुपमा कयौं संगठन निर्माण गर्नुभयो । र २०३४ सालमा पार्टी सदस्यता प्राप्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सयौं संगठन निर्माण भएपछि बल्ल पार्टी सदस्यता पाएँ । त्यो बेला पार्टी सदस्यता अहिले जस्तो मकै, भटमासजस्तो हुने थिएनँ । निकै गाह्रो हुन्थ्यो । मरे एउटै खाल्डामा, बाँचे एउटै बाटोमा भनेर अघि बढियो ।”

२०३६ सालमा जिल्ला समिति सदस्य हुँदै २०४० सालदेखि अखिल नेपाल महिला सङ्घमा महिला अधिकारका लागि भूमिगत रुपमा लाग्नुभयो । ‘खबरदार ! मलाई महिलाको आँखाले नहेरियोस्’ भनेर म पार्टीको काममा लाग्थे, उहाँले भन्नुभयो ।

उहाँले आफू २०७४ सालबाट पार्टीमा क्रियाशिल नभएको समेत बताउनुभयो । हाल उहाँ ८० वर्षको पुग्नुभएको छ । तत् पश्चात् लोपोन्मुख महिला र दलित समुदायमा महिला सम्बन्धमा आफूले अध्ययन अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

नेकपा (एमाले) उपाध्यक्ष तथा मोतीदेवी स्मृति प्रतिष्ठानका अध्यक्ष अष्टलक्ष्मी शाक्यले नेतृ मानवी धैर्यता, विश्वास र इमानदारीता भएको प्रेरणादायी सङ्घर्षशील महिला रहेको बताउनुभयो ।

  यसैगरी, तुलसीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले पार्टी निर्माणमा मानवीको नेतृत्वदायी भूमिका रहेको बताउनुभयो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।