मुसीकोट समाचारदाता
रुकुमपश्चिम, चैत १४ गते । चौरजहारी नगरपालिका–३ को पुरानो सिँचाइ नहर भत्किएको छ। चौरजहारी टार सिँचाइ कार्यालयअन्तर्गत चौरजहारी नगरपालिका–३ देखि वडा नम्बर १ जाने पुरानो नहर भत्किएको हो।
चौरजहारी टार सिँचाइ कार्यालयका अध्यक्ष अर्जुन कुमालका अनुसार नहरमा क्षमताभन्दा बढी पानी पठाइँदा निकास साँघुरो भएर भत्किएको हो। शनिबार दिउँसो परेको पानी र पोखरीको पानीसमेत नहरमा पठाइएको थियो। वडाको घारीपाखा–विजयश्वरी सडक निर्माणका क्रममा नहरको निकास बन्द भएको थियो। सोही कारण नहरको क्षमताभन्दा बढी पानी जम्मा हुँदा नहर भत्किएको अध्यक्ष कुमालले बताउनुभयो। सडक निर्माणको क्रममा पुरिएको नहरको माटो हटाइएको छैन।
अध्यक्ष कुमालले पुरानो नहरको करिब २० मिटर भाग भत्किएको जनाउनुभयो। अन्यत्रको जमिनमा पानी आवश्यक नभएका बेला पुरानो नहरतर्फ बढी मात्रामा पानी ढल्काइएको उहाँले उल्लेख गर्नुभयो। भत्किएको नहरका लागि आवश्यक प्रक्रिया पु-याएर तत्कालै मर्मत थालिनेसमेत अध्यक्ष कुमालले जानकारी दिनुभयो। उक्त नहरबाट चौरजहारी नगरपालिका–१, २ र ३ को खेतीयोग्य जमिनमा सिँचाइका लागि पानी जाने गरेको थियो।
नहर भत्किएपछि विजयश्वरी चौरजहारी सुक्खा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा क्षति पुगेको छ। संस्थाका अध्यक्ष तेजबहादुर बटालाका अनुसार नहरदेखि २० मिटर तल रहेको कार्यालय परिसरमा क्षति पुगेको छ। नहर भत्किएर आएको पानीसँगको माटो र ढुङ्गाका कारण कार्यालय परिसर जलमग्न तथा हिलाम्मे भएको छ। खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष बटालाले रुखसमेत ढलेका कारण कार्यालयपछाडिको भागमा असर पुगेको जानकारी दिनुभयो।