• १५ वैशाख २०८१, शनिबार

घटेनन् क्षयरोगी

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, चैत १२ गते । रुकुमपश्चिममा क्षयरोगको निदान तथा नियन्त्रणमा सचेतनाको कमी नै प्रमुख चुनौती रहेको बताइएको छ। विश्व क्षयरोग दिवसका अवसरमा शुक्रबार स्वास्थ्य सेवा कार्यालयले आयोजना गरेको अन्तक्र्रियामा जनचेतनाको अभावले नै क्षयरोग नियन्त्रण हुन नसकेको बताइएको हो। 

जिल्ला अस्पताल सल्लेका मेडिकल अधिकृत डा. धीरजकुमार दासले क्षयरोगका बारेमा अझै पनि धेरै व्यक्ति जानकार नभएको बताउनुभयो। स्वास्थ्यकर्मीको निगरानीमा नियमित उपचार गराए यो रोग पूर्ण रूपमा निको हुने भए पनि यसबारेमा जानकारी नहुँदा धेरै बिरामी उपचारको दायरामा आउन नसकेको उहाँको भनाइ छ। यसका साथै रोग पहिचान भए पनि नियमित औषधि सेवन नगर्दा क्षयरोग निवारणमा झनै चुनौती थपिएको उहाँले बताउनुभयो। 

उहाँले अस्पतालमा आउने धेरै बिरामीलाई क्षयरोगका बारेमा जानकारी नहुने भएकाले परीक्षण नै नहुने गरेको उल्लेख गर्नुभयो। क्षयरोग निवारणका लागि यो रोग तथा यसबाट बच्ने उपायका बारेमा सरोकारवाला निकाय सबैले अभियानकै रूपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। लक्षण नदेखिएर पनि क्षयरोग लाग्ने भएकाले झनै चुनौती थपिएको उहाँले बताउनुभयो। व्यक्ति सामान्य भए पनि उसमा क्षयरोग हुन सक्ने भएकाले सबै सतर्क हुन आवश्यक रहेको र नियमित स्वास्थ्य जाँच आवश्यक रहेको डा. दासले जानकारी गराउनुभयो। 

स्वास्थ्य सेवा कार्यालयका अनुसार रुकुमपश्चिममा अहिले १०३ जना क्षयरोगी उपचाररत छन्। चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्ममा जिल्लाभरमा १०३ जना क्षयरोगीका बिरामी फेला परेको र उपचाररत रहेको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर कृष्ण खड्काले बताउनुभयो। उनीहरूको जिल्लाका विभिन्न ३२ ठाउँमा रहेका स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। क्षयरोगीको स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा डट्स विधिबाट उपचार हुने गरेको छ। 

सुपरभाइजर खड्काका अनुसार जिल्लामा १५ देखि ५४ वर्षका बिरामी धेरै रहेका छन्। वर्षेनि उस्तैउस्तै सङ्ख्यामा क्षयरोगी फेला पर्ने गरेको खड्काले बताउनुभयो।