• ११ वैशाख २०८१, मङ्गलबार

कर्णालीका पदक विजेता सम्मानित

blog

पदक विजेता खेलाडी सम्मानित भएपछि । तस्बिर : गोरखापत्र

नविन सुवेदी

सुर्खेत,चैत ९ गते ।  प्रदेश सरकारले विभिन्न विधाका खेलमा कर्णालीलाई पदक दिलाउने खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

सन् २०२१ मा भारतको सिक्किममा आयोजित स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा स्वर्ण पदक विजेता सुर्खेतकी खगिसरा घर्तीलाई दुई लाख रुपियाँ सहित सम्मान गरिएको हो । 

यस्तै गत भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौँमा सम्पन्न साफ महिला फुटबल प्रतियोगितामा रजत पदक विजेता हुम्लाकी दीपा शाहीलाई ५० हजार, गण्डकीमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उसुमा स्वर्ण विजेता सुर्खेतका दीपक हमाल र एथलेटिक्समा स्वर्ण विजेता जुम्लाका दुर्गबहादुर बुढालाई दुई दुई लाख रुपियाँ सहित सम्मान गरिएको हो ।

त्यस्तै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत जित्ने चार जनालाई प्रतिव्यक्ति जनही एक लाख ५० हजार र कांस्य पदक जित्ने ११ जना खेलाडीलाई नगद एक एक लाख रुपियाँबाट सम्मान गरिएको छ । 

काठमाडौँमा सम्पन्न १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णालीलाई स्वर्ण दिलाउने सुर्खेतका सुरेश चौधरी र अजय विक तथा कालिकोटका भावना फर्साललाई २०/२० हजार रुपियाँसहित सम्मान गरिएको हो । 

यस्तै सोही प्रतियोगितामा रजत पदक विजेता सात जना खेलाडीलाई १५ हजार र कांस्य पदक विजेता १६ जनालाई १० हजारका दरले पुरस्कार वितरण गरिएको हो । 

कर्णालीलाई पदक दिलाउने खेलाडीको सम्मान र उनीहरूमा थप उत्प्रेरणा बढाउन नगद पुरस्कार उपलब्ध गराइएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । 

परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न विधाका खेलमा स्वर्ण, रजत र कांस्य पदक दिलाउने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । 

पदक विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाइले कर्णालीमा खेलकुदको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।