काठमाडौँ, मङ्सिर २८ गते । स्ट्राइकर रश्मीकुमारी घिसिङको निर्णायक गोलमा नेपाल एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराँची सिटी फुटबल क्लबमाथि कठिन जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा एपिएफले कराँची सिटीलाई १–० गोलले हरायो । रश्मीले ५२औँ मिनेटमा मिडफिल्डर रेनुका नगरकोटीले मिलाई दिएको पासमा हेड गोल गर्नु भयो ।
पहिलो हाफमा राम्रा अवर बनाएको कराँची सिटीले गोल फर्काउन सकेन । यस जितसँगै एपिएफ प्रतियोगिताको फाइनल नजिक पुगेको छ । पराजित कराँची सिटी फाइनल समीकरणबाट बाहिरिएको छ ।
यसअघि एपिएफ पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
एपिएफले अब लिग चरणको अन्तिम खेल पुस २ गते भारतको इस्ट बङ्गाल क्लबसँग खेल्ने छ । लिगको शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुने छ ।