• २९ मङ्सिर २०८२, सोमबार

रगत अभाव टार्न ५७ जनाले गरे रक्तदान

blog

रगत अभाव टार्न रक्तदान गर्दै स्थानीय रक्तदाताहरु । तस्बिरः सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर २८ गते । चिसोको मौसममा रगतको माग बढ्ने र रक्तदान गर्नेको संख्या घट्ने हुँदा रगतको अभावलाई टार्नका लागि नेपालगन्जस्थित प्रादेशिक रक्त सञ्चार केन्द्रले रक्तदानका लागि विभिन्न संघ संस्थासँग आग्रह गरेको छ । 

चिसो बढ्दै जाँदा रक्तदान गर्नेहरु घट्नु र सोही समयमा रगतको माग बढ्नुले समस्या हुन थालेको हुँदा रक्तदानमा संलग्न संघ संस्थालाई रगत संकलनका लागि बिशेष अनुरोध गरिएको प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो । 

उहाँले जाडोको मौसममा हरेक वर्ष रगत अभावको समस्या हुने हुँदा रक्तदानका लागि आग्रह गर्ने गरिएको बताउनुभयो । बाँकेको नेपालगन्ज र कोहलपुरमा रहेका विभिन्न अस्पतालमा बाहिरी जिल्लाबाट रेफर गरिएका गम्भीर बिरामीहरु बढी आउने हुँदा रगतको माग अत्यधिक हुनेगरेको अस्पतालको भनाइ छ ।  

यसैविच रगतको अभाव टार्नका लागि विगत १७ वर्षदेखि निरन्तर त्रैमासिक रुपमा रक्तदान गर्दैआएको जनमत अर्धसाप्ताहिकले ६७ औं पटक रक्तदानको आयोजना गरेर ५७ पिन्ट रगत संकलन गरेको छ । 

नेपालगन्जमा गोपाल–नीना फाउण्डेसन नेपालसँग सहआयोजना गरेको रक्तदान कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, औषधी व्यवसायी, नेपालगन्ज साइकल क्लबका प्रशिक्षार्थीहरु तथा नियमित रक्तदाता गरी ४ जना महिलासहित ५७ जनाले रक्तदान गर्नुभएको जनमत अर्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुकेले बताउनुभयो । 

रक्तदान गर्नेहरुमा स्वयंसेवी नियमित रक्तदाताहरुमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकि अध्यक्ष दिला शाह, कोषाध्यक्ष मनमोहन वर्मा, नेपाल स्वयंसेवी रक्तदाता राप्तीसोनारी गाउँपालिका उपसमितिका सल्लाहकार तथा वडा नं.६ का वडाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका सल्लाहकार लवराज खरेल, नीरजमान श्रेष्ठ, लक्ष्मणप्रसाद वैश्य, उर्दू साहित्यकार असफाक संघर्ष जसगढ, पवनकुमार प्रसाद वैश्य, गौतमप्रसाद पौडेलले लगायत रहनुभएको थियो । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार केन्द्रका होमराज गिरी, सुनिता कुमाई, सन्दिप आचार्य, महेश राना क्षेत्री, महेश दहित, प्रशान्त थारु, सञ्जय बढही र वीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नु भएको थियो । 

सो अवसरमा रक्तदाताहरुलाई गोपाल निना फाउण्डेसनका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, फाउण्डेसनकी सह–निर्देशक डा. तृप्तीपाल रमण, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिलाशाह र जनमत अर्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुके लगायतले रक्तदातालाई प्रमाणपत्र बितरण गर्नुभयो ।